पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालतको आदेश

तुलसीपुर, ६ कात्तिक

उच्च अदालत तुलसीपुरले १८ करोड हिनामिना प्रकरणमा पक्राउ परेका १३ जना मध्य ५जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । उच्च अदालतका मुख्य न्यायाधीस रमेश पाख्रेल र न्यायाधीस ऋषीराम दवाडीको इजलाशले रकम हिनामीनाका मुख्य योजनाकार मानिएका शमिर बुढाथोकी, अनिल कुमार न्यौपाने, बसन्त बहादुर बस्नेत, झगु बहादुर डिसी, र बिजय गुप्तालाई पुर्पपक्षका लागि थुनामा पठाएको हो । त्यसैगरी पोषण प्रसाद जैसीलाई २० लाख, विरेन्द्र कुमार गुप्तालाई २० लाख, अर्जुन बस्नेतलाई २७ लाख र मत कुमार पौडेललाई ५ लाख धरौटी माग गरेको छ ।

यी मध्य मत कुमार पौडेल र बीरेन्द्र कुमार गुप्ताले धरौटी रकम बुझाएर बुधबार रिहा भएका छन् । त्यसैगरी सक्तुराम गुप्ता, बन्दना गुप्ता, अर्चना थापा र बसन्त बहादुर बुढाथोकीलाईलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको उच्च अदालत तुलसीपुरका उपरजिष्टार एवं सूचना अधिकारी प्रेम खड्काले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दाङले दायर गरेको मुद्दाका आधारमा सरकारी वकीलको कार्यालयले गत आइतबार उच्च अदालत तुलसीपुरको बाणिज्य इजलासमा ५६ जना बिरुद्ध मुद्दा दर्ता गराएको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङले १८ करोड हिनामिना प्रकरणमा अनुसन्धान गरेर शुक्रबार मात्रै सरकारी वकिल कार्यालयमा फाइल बुझाएको थियो । मुद्दा दर्ता गर्ने क्रममा बैँक सञ्चालकहरू, अडिटर र सिइओ फरार रहेको उल्लेख गरिएको छ । तत्कालीन वेष्टर्न बैँक नारायणपुर हाल देव विकास बैँकका म्यानेजर समीर बुढाथोकीलाई मुख्य योजनाकार र अन्य बैँक सञ्चालक, ऋण वोर्डका सदस्य, अडिटर, बैँकका सिइओसहितका कर्मचारीहरू र खाताको रकम दुरुपयोग गर्नेलाई सहयोगीका रूपमा मद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय प्रमुख सुशील देवकोटाले जानकारी दिए ।

सरकारी वकिल कार्यालयले बैँकको रकम हिनामिना प्रकरणमा तत्कालीन वेष्टर्न बैँकका सञ्चालक समिति अध्यक्ष ओमभक्त बुढाथोकी, सञ्चालकहरू अर्जुन बुढाथोकी, खड्ग बुढाथोकी, वेगमबहादुर भण्डारी, शेषमणि गौतम, निर्मल देवकोटा लगाएतका अरोपीहरु फरार जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक जनक भटटराईले जानकारी दिए ।  १८ करोड ३ लाख ७२ हजारको बिगो देखाइएको उक्त मुद्दामा सरकारी वकिल कार्यालयले दोब्बर बिगो ३६ करोड बढि रकमसहित जरीवाना र अभियुक्तलाई कैद सजायको माग गरेको छ ।
तत्कालीन शाखा म्यानेजर बुढाथोकीले कृत्रित ३६ जनाको नक्कली कर्जा बनाई गलत कर्जा प्रवाह गरी बैँकको सो रकम हिनामिना गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

 

प्रकाशित मिति : २०७६ कार्तिक ६ गते बुधवार
प्रतिक्रिया