दाङमा व्यावसायिक फुल खेतीको आर्कषण बढ्दो

सुमन केसी÷ विकास डाँगी । दाङ, ४ कात्तिक ।कुनै समय करेसाबारी र आँगनको शोभाका रुपमा लगाइने फूल अहिले व्यावसायिक रुपमा लगाउन थालिएको छ । विभिन्न कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग हुन थालेपछि व्यावसायिक रुपमा फूलको खेति सुरु हुन थालेको हो । जिल्लाका घोराही र तुलसीपुरमा अहिले व्यावसायिक रुपमा फुलको खेति गरिएको छ । तिहारको आगमनसँगै फुलको मालाको माग अत्याधिक वढ्ने भएकाले उत्पादन समेत वृद्धि भएको छ ।
यता तुलसीपुरका युवा ब्यवसायी विनिल के.सी, सन्दिपन रिजाल, सचिन पौडेल लगायतका ७ जना युवाहरुले तुलसीपुर उपमहानगरपालिका १३ रनियापुरमा ब्यवसायी फुलखेतीको शुरुवात गरेका छन । बजारमा विशेष गरी तिहारको बेला कृत्रिम रबरका फुल तथा मालाले बर्चस्व कायम गरिरहेको अवस्थामा ति फुललाई निरुत्साहित गर्न आफुहरुले ब्यावसायीक रुपमा फुल खेती गरेको दुर्गा बहादुर बस्नेतले बताए । फुलकै लागि लाखौँ पैसा बाहिर गईरहेको समयमा आफुहरुले उत्पादन गरेको फुलहरुले बाहिरबाट भित्रिने कृत्रिम फुलमा आयत कमि हुने उनको भनाई थियो । पहिलो पटक १५ हजार सयपत्रीका बोटहरु रोपेकोमा केही रोग लागेर मर्दा १२ हजार जति बोटहरु रहेको जानकारी दिए ।
५ लाखको लागतमा १ विगाहा क्षेत्रफलमा फुलखेती गर्दै आएको अर्का ब्यवसायी विनिल केसीले जानकारी दिए । यहाँ उत्पादन भएका फुलहरु दाङमा मात्र नभई बाहिर जिल्लामा पनि निर्यात गर्ने लक्ष्य लिएको उनको भनाई थियो । प्रति किलो २०० र प्रति माला १०० सयमा विक्रि गर्ने समेत उनले वताए ।

त्यसैगरी दाङका विभिन्न ठाँउमा सयपत्री फुलको खेती हुँदै आएको छ । घोराही, लमहीमा फूलखेती व्यवसाय गर्नेहरुको संख्या बढ्दै गएको छ । घोराही करिब २ वर्षदेखी पूर्व माओवादी सेनाका बिग्रेड सह–कमाण्डर क्षितिज मगरले घोराही उपमहागनगरपालिका १३ डुमरगाँउमा व्यवसाय फुलखेती गर्दै आएका छन् । तर प्राप्त रुपमा सिंचाई हुन जमिन नपाउँदा समस्या भएको उनले वताए । आफै नै लगानीमा फुलखेती गर्दै आएका मगरले अहिले सम्म कुनै निकायवाट आफुहरुलाई सहयोग नपाएको वताए । आफुहरुले उत्पादन गरेको फुलहरु दाङ लगाएत काठमाडौँ, पोखरा जस्ता शहरहरुमा पठाउने गरेको उनले जानकारी दिए ।

घोराही उपमहानगरपालिका वडा नं. १४ झिगौरामा व्यावसायिक रुपमा सयपत्री फुलको खेती गर्न थालिएको छ भने अन्य स्थानमा पनि यसको विस्तार हुँदै गएको छ । झिंगौरा निवासी लोकेन्द्र रोकामगरले व्यावसायीक रुपमा सयपत्री फुल खेती गरेका छन् । रोकामगरले सुरुका केही वर्ष तिहारको लागि मात्र फुल खेती गरेका थिए । सुरुमा फुलको माग कति हुन्छ भनेर बजार मागलाई बुझेका लोकेन्द्रले अहिले आएर व्यावसायिक रुपमा खेती सुरु गरेका हुन् ।
उनले जलजला पुष्प खेती फर्म दर्ता गरेर सयपत्रीको व्यावसायिक रुपमा खेती सुरु गरेका छन् । अहिले उनले १२ कट्टा जग्गा भाडामा लिएर खेती गरेको छन् भने यस लाइ विस्तार गर्ने सोचमा रहेका छन् । अहिले १२ कट्टाको वार्षिक ४८ हजार भाँडा तिर्ने गरेको उनले बताए । आउँदो वर्ष १८ कट्टामा फुल खेती उनको भनाइ रहेको छ । रोजगारीको सिलसिलामा ७ वर्ष कतारमा विताएका रोकाले जिल्लामा दशै तिहार लगायतका पर्व एवं अन्य शुभ कार्यका लागि फुलको माग देखे पछि फुल खेती गर्ने थालेको बताउँछन् ।
घोराही बजार नजिकै फुलखेती गरे पछि आफुलाइ बजारको लागि कुनै पनि समस्या नभएको रोका बताउछन् । उनको फर्ममा दैनिकजसो फुलको अडर आउने गरेको छ । उनले उत्पादन गरेको फुल कहाँ लिएर विक्री गरौं भन्ने समस्या नरहेको रोकाको भनाई छ । आफुले उत्पादन गरेको फुल जिल्लामा नै सकिने गरेको उनले बताए । जिल्लाका घोराही, तुल्सीपुर, लमही, भालुवाङका बजारवाट फुल लिन आउने गरेका छन् ।माग अनुसार जिल्लामा फुल उत्पादन हुन नसकेको उनको भनाइ छ । अहिले उनले एउटा मालालाइ १ सय रुपैयामा विक्री गर्ने गरेको बताए । पहिले तिहारका लागि मात्रै सयपत्री फुल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले यस वर्ष देखि बाह्रै महिना फुल उत्पादन गर्ने बताए ।

“जिल्लामा १२ महिना नै फुलको माग भएकाले बाहै्र महिना नै फुल उत्पादन गर्ने थालेको छु” रोकाले भने । सयपत्री मात्रै नभएर गुलाफको फुल पनि उत्पादन गर्ने सोचमा रोका रहेका छन् । अहिले सजावटका लागि जिल्ला वाहिरवाट गुलाफको फुल आउने गरेको उनले बताए । गत वर्षे फुल बिक्रीवाट उनले १ लाख रुपैया चोखो नाफा गर्ने सफल भएको बताए । आफुसंगै परिवार तथा अन्य ३ जनालाइ समेत रोजगार प्रदान गरेको उनको भनाइ रहेको छ ।
रोकाले व्लक टायलको काम गरे पनि विहान वेलुका बचेको समयमा फुल खेती गरेको बताए ।

त्यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पुजाआजाका लागि फुलको माग हुने गरेको उनको भनाइ छ । थोरै लगानी वाट राम्रो आम्दानी गर्ने सकिने भएकाले यसतर्फ लाग्न समेत आग्रह गरेका छन् । उनले हालसम्म कसैबाट पनि कुनै प्रकारको सहयोग प्राप्त गर्ने नसकेको बताए । यस वर्ष प्राविधिक कमजोरीका कारण फुल खेतीमा रोग लागेको छ । यसले गर्दा आम्दानी समेत घट्ने होकि भन्ने चिन्ता उनमा रहेको छ । रोग नलागेको भए आम्दानी समेत राम्रो हुने उनको भनाइ छ । रोग नियन्त्रणका लागि व्यावसायिक रुपमा फुल खेती हुने स्थानमा सम्पर्क गरेर औषधी गरीरहेको उनले बताए ।

 

 

प्रकाशित मिति : २०७६ कार्तिक ४ गते सोमवार
प्रतिक्रिया