माघ देखी नमूना जनगणनाको तयारी गरिने

काठमाडौ, ३ कात्तिक । केन्द्रीय तथ्याङ्क विभागले विसं २०७८ मा हुने राष्ट्रिय जनगणनाका लागि आगामी माघ १ गतेदेखि तीन महिनासम्म नमूना जनगणनाको तयारी गरेको छ ।राष्ट्रिय योजना आयोगमातहतको उक्त विभागले सातै प्रदेशका हिमाल, पहाड र तराईको जनसङ्ख्याको समानुपातिक प्रतिनिधित्व हुने गरी करीब ११ हजार ६१० घरपरिवारमा नमूना जनगणना सञ्चालन गर्न लागेको हो । प्रत्येक प्रदेशबाट दुई जिल्लाका दरले १४ जिल्लाका ५५ वडामा नमूना गणना सञ्चालन गरिनेछ ।
विभागले आज पत्रकार सम्मेलन गरी नमूना गणनाका लागि १५ सुपरीवेक्षक, ६० गणक, अन्य ४७ गरी १२२ जनशक्ति परिचालन गर्ने जानकारी दिएको हो । सुपरीवेक्षक र गणक करारमा नियुक्त गरिनेछ । यस कार्यका लागि रु एक करोड १७ लाख बजेट विनियोजन गरिएको छ ।विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले छ महीनाभन्दा बढी अस्थायीरुपमा बसेका नागरिकको सोहीस्थलमा गणना गरिने जनाउँदै विदेशमा बसिरहेका नेपालीको गणनाका कार्य चुनौतीपूर्ण हुने बताए । जनगणनाको प्रारम्भिक नतिजा तीन महीना र पूर्ण प्रतिवेदन नौ महीनाभित्र सार्वजनिक गरिने छ ।
विभागले जनगणनाका लागि ‘मेरो गणना, मेरो सहभागिता’ सहितको मूल नारा र लोगो पनि आज सार्वजनिक गरेको छ । जनगणनाका लागि आयोगका सदस्य डा रामकुमार फुँयालको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ । जनगणनाका कार्यका लागि आव २०७६÷७७ को बजेटमा रु ३६ करोड २७ लाख विनियोजन गरिएको छ ।प्रत्येक १०÷१० वर्षमा गरिने जनगणना यसअघि विसं २०६८ मा गरिएको थियो । नेपालमा औपचारिकरुपमा विसं १९११ मा जनगणना कार्यको थालनी भएको हो ।

प्रकाशित मिति : २०७६ कार्तिक ३ गते आइतवार
प्रतिक्रिया