सचिव गेहराजले गरे मोटरसाईकलको दुरुपयोग

तुलसीपुर,२३ असोज

विगत ५ बर्षदेखि तुलसीपुरका वडा सचिवले सरकारी मोटरसाईकलको दुरुपयोग गर्दै आएको खुलेको छ । तुलसीपुर उपमहागनरपालिका–१७ का वडासचिव गेहराज पौडेलले सरकारी मोटरसाईकलमा रातो प्लेट राखेर चलाउदै आएका छन् । तत्कालिन जिल्ला विकास समिति दाङको निर्णय अनुसार गाउँविकास समितिका सचिवले २०७२ सालमा मोटरसाईकल खरिद गरेका थिए । गेहराज पौडेल, त्यतिबेला मानपुर गाविसका सचिव थिए । उनले सुरु देखिनै सरकारी मोटरसाईकलमा रा१प ४८८७ को नम्बरको रातो प्लेट राखेर चलाउदै आएका छन् । स्थानीयका अनुसार सरकारी कामकाज भन्दा पनि व्यक्तिगत प्रयोजनका लागि मोटरसाईकल बढी दुरुपयोग हुने गरेको छ । ‘ ठूलाले जे गरेपनि हुने रहेछ,’ नाम नबताउने सर्तमा एक स्थानीयले भने–‘सरकारी सम्पति व्यक्तिको जस्तोगरी मनलाग्दी प्रयोग गर्दा कसैको आँखा परेन ।’
के भन्छन सचिव पौडेल ?
गाउँघरमा हिड्न सजिलो हुने भएकाले सेतो प्लेट नराखेको सचिव पौडेलले बताए । ‘२०७२ सालमा एक लाख दुई हजारमा किनेको जस्तो लाग्छ ,’ सचिव पौडेलले भने– ‘भएको सुविधा प्रयोग गर्न मन लाग्छ । गाउँघर तिर हिड्न सजिलो होस भनेर सेतो प्लेट हालिएन ।’

नैतिकता नभए जे गरेपनि हुन्छ: सिडियो
यता प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नैतिकता नभए जे गरे पनि सुहाउने बताए । ‘यसको ठूलै कारबाही त केहि हुदैन,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने–। ‘नैतिकता नै नभए कसको के लाग्छ र ? । सरकारी कर्मचारीलाई यति सानो कुरा त सिकाउनु नपर्ने हो । तै पनि अब रातोलाई सेतो बनाउन लगाउछु ।’
रातो प्लेटमा चलाउनु भनेकै सरासर दुरुपयोग भएको बताउदै प्रमुख जिल्ला अधिकारी रिजालले तुलसीपुर उपमहानगर पालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई फोन गरेर तत्काल रातो प्लेटलाई सेतो बनाउन लगाउने बताए ।

 

प्रकाशित मिति : २०७६ असोज २३ गते बिहिवार
प्रतिक्रिया