महराको बयान दशैंपछि हुने, दोषी ठहर भएमा के हुन्छ सजाय

काठमाडौ, १९ असोज । यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका तत्कालिन सभामुख कृष्णबहादुर महराको बयान दशैं पछिबाट सुरु हुने भएको छ । प्रहरी अधिकारीका अनुसार उनको बयान अदालत र सरकारी वकिलको कार्यालय खुलेपछि मात्रै सुरु हुनेछ । अदालतको दशैं विदा २६ गतेसम्म हुनेछ । तर पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा २७ गते पनि अदालतमा विदा दिइएको छ । अर्को सोमबार अदालत तथा सरकारी वकिलको कार्यालय खुलेपछि अदालतमा हाजिर लगाउने र बयान लिने काम सुरु हुनेछ । घटनाको मुद्दा भने काठमाडौं प्रहरी परिसर, टेकुबाटै चल्नेछ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको आरोप लागेपछि उनले सभामुख पदबाट राजिनामा दिई सकेपछि उनी विरुद्ध बानेश्वर प्रहरी वृत्तमा उजुरी परेको थियो । उजुरीको आधारमा प्रहरीले अदालतमा पेशको निवेदन अनुसार अदालतले उनलाई पक्राउ गर्न अनुमति दिए लगतै सभामुखको सरकारी निवासबाटै पक्राउ गरिएको हो । पूर्वगृहमन्त्री समेत रहेका महरालाई प्रहरी प्रधान कार्यालयको निर्देशनमा सिंहदरबारमा राखिएको हो ।
दोषी ठहर भएमा ५ वर्षसम्म कैद
महरा माथि १२ असोजमा संसद सचिवालयकी कर्मचारीलाई उनकै कोठामा गएर बलात्कार प्रयास गरेको आरोप लागेको छ । यो आरोप पुष्टि भएमा उनलाई तीन वर्ष ६ महिना वा ५ वर्ष कैद सजाय समेत हुनेछ ।प्रहरीकाअनुसार उनीविरुद्ध जबरजस्तीकरणी उद्योगमा मुद्दा चलाइनेछ । मुलुकी अपराध संहिताले कुनै पनि कसूरको उद्योग पुष्टि भए तोकिएभन्दा आधा सजाय हुने व्यवस्था गरेको छ ।संहिताको परिच्छेद १८ मा रहेको जबरजस्तीकरणी सम्बन्धी कसूर सम्बन्धी दफाको उपदफा ३ (ङ) मा पीडित १८ वर्ष वा सोभन्दा बढी उमेरको महिला भए सात वर्षदेखि १० वर्षसम्म कैद सजाय हुनसक्ने उल्लेख गरिएको छ ।महरा प्रकरणमा पीडितको उमेर १८ वर्षभन्दा बढी भएकाले यो व्यवस्था लागू हुनेछ । तर, सात वा १० वर्ष कुनलाई आधार मान्ने भन्ने विषय चाहिँ अपराधको प्रकृति हेरेर न्यायाधीशले तोक्नेछ ।

प्रकाशित मिति : २०७६ असोज १९ गते आइतवार
प्रतिक्रिया