इराकमा सरकार विरोधी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १ सय पुग्यो

इराक । इराकमा चर्किएको सरकार विरोधी प्रदर्शनमा ज्यान गुमाउनेको सख्या १ सय पुगेको छ भने चार हजार भन्दा धेरै घाइते भएको अन्र्तराष्टिय सन्चार माध्यमले समाचारमा जनाएका छन् ।बढ्दो बेरोजगारी, गरीबी र भ्रष्टाचार अन्त्य गर्न माग गर्दै एक हप्तादेखि ईराकको राजधानी बगदादमा भइरहेको प्रदर्शनमा सहभागीलाई सरकारले हस्तक्षेप गरेपछि ज्यान गुमाउनेको संख्या बढेको बीबीसीले जनाएको छ ।
प्रहरीले प्रदर्शनकारी माथि अश्रुग्यास प्रहार गर्नुको साथै लाठी प्रहार गरेको समाचारमा जनाईएको छ । यसैबीच संयुक्त राष्ट्रसंघले पाँच दिनदेखिको प्रदर्शन रोक्न इराकलाई आग्रह गरेको छ । संयुक्त राष्ट्र संघका इराकका विशेष प्रतिनिधि जेन्नी हेनिसले नागरिकको ज्यान जानु गैरन्यायिक हत्या भएको भन्दै तत्काल वार्ता मार्फत समस्या समाधान गर्न र प्रदर्शन रोक्न पनि सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७६ असोज १९ गते आइतवार
प्रतिक्रिया