सभामुख महराले दिए राजीनामा

काठमाण्डौ – संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिनु भएको छ । चौतर्फी दबाबका बीच नेकपा सचिवालय बैठकलेसमेत सभामुखलाई राजीनामा दिन सुझाव दिएपछि महराले राजीनामा दिनु भएको हो ।

सभामुख महराले आफूमाथि लागेको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भन्दै नैतिकताका आधारमा उपसभामुखसमक्ष राजीनामा दिएको बताउनु भएको छ । यसअघि बिहान प्रधानमन्त्री समेत रहनुभएका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुख महरालाई राजीनामा दिन सुझाव दिनुभएको थियो ।

महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख महरालाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न चौतर्फी दबाब बढेको थियाे ।  महराको सचिवालयले भने त्यसको खण्डन गरेको छ । तर पछि सञ्चारमाध्यमहरुमा सभामुख महराले उनी आफ्नो साथी भएकाले कोठामा गएको तर दुर्व्यवहार भने नगरेको दाबी गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७६ असोज १४ गते मङ्गलवार
प्रतिक्रिया