दाउरा निकाल्न खोज्दा भेरी नदीमा बगेर एकको मृत्यु

जाजरकोट । जाजरकोटमा भेरी नदीले बगाएर एक जनाको मृत्यु भएको छ । नदीले बगाएर ल्याएको दाउरा निकाल्न गएका भेरी नगरपालिका–१ कालेगाउँका ५३ वर्षीय मनबहादुर बोहराको मृत्यु भएको हो । बोहराको शव ३५ किलोमिटर टाढा छेडाचौर बगरमा फेला परेको जाजरकोट प्रहरीले जनाएको छ ।

यसैबीच लगातारको वर्षापछि पहिरो जाँदा जाजरकोटको नलगाड नगरपालिका–३ का छ घरपरिवार विस्थापित भएका छन् । छेप्का कैना सडकका कारण पहिरो जाँदा लुहारखेतका दलबहादुर पुन, भूमीलाल पुन, लक्ष्मीप्रसाद शर्मा र मुकुन्द शर्माको घर पहिरोको उच्च जोखिममा परेपछि उनीहरु घर छोडेर आफन्तको घरमा बसेको लक्ष्मीप्रसाद शर्माले बताए ।“घर तल पहिरो जाँदैछ, घरमा माथिबाट जमीन चिराचिरा परेर धाँजा फाटेको छ”, शर्माले भने । त्यसैगरी बाँगेदाराका डम्बर थापा, ललित थापाको घर पहिरोको जोखिमा परेपछि थापा परिवार घरछोडेर विस्थापित भएको छ ।

प्रकाशित मिति : २०७६ असोज ६ गते सोमवार
प्रतिक्रिया