विप्लव समूहका इन्चार्ज हतियारसहित पक्राउ

भोजपुर – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका भोजपुर जिल्ला इन्चार्जलाई प्रहरीले आइतबार हतियारसहित पक्राउ गरेको छ । टेम्केमैयुङ गाउँपालिका-५, खावा घर भएका जिल्ला इन्चार्ज बम बहादुर विष्टलाई भोजपुर नगरपालिका १०, भैँसीपंखाको गजुरमुखी भिरछेउको जंगलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

पक्राउ परेका विष्टको साथबाट प्रहरीले २ थान इटालियन अटोमेटिक पेस्तोल, डायरी, सिमकार्ड, मोबाइल २ थान, १० राउण्ड गोली र ह्याण्ड ग्रेनेड १ थान पनि बरामद गरेको प्रहरीले जनाएको छ । उनको साथमा चन्दाको माग गर्दै लेखिएका पत्र र पार्टीका पर्चा फेला परेको थियो ।पक्राउ परेका उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताउनुभयाे ।

प्रकाशित मिति : २०७६ असोज ५ गते आइतवार
प्रतिक्रिया