तुलसीपुरमा आधुनिक सिसी क्यामेरा जोडिदै

तुलसीपुर ,५ असाेज 

तुलसीपुर वजारलाई सुरक्षित राख्नका लागि आधुनिक सिसि क्यामेरा जोडिने भएको छ । उपमहानगरपालिकाले टेण्डर आव्ह्वान गरे प्रक्रिया अगाडि वढाएको हो । मुख्य वजारमा विभिन्न खाले घटना भइरहेको भन्दै उपमहानगरपालिकाले सिसि क्यामेरा जडान गर्ने भएको हो । तत्कालका लागि वजार क्षेत्रभित्र मुख्य ठाउँमा २० वटा क्यामेरा जडान गर्ने गरी उपमहानगरपालिकाले टेण्डर प्रक्रिया समेत अगाडि वढाएको प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले जानकारी दिए । उनले उपमहानगरपालिका भित्र १ सय १ वटा क्यामेरा जडानको गुरुयोजना निर्माण गरिएको भएपनि तत्कालका लागि २० वटा क्यामेरा जडान गरिने भएको पनि वताए ।

गतवर्ष वजेटमा उपमहानगरपालिकाले विनियोजन गरेको २५ लाखमा सिसी क्यामेरासँगै १०१ वटा सिसी क्यामेराको व्याकअप र अप्टिकल फाइवर विछ्याने काम समेत गरिने प्रमुख प्रशासकीय अधिकृत सारुले वताए । “व्याकअप र अप्टिकल फाइवरको काम पुरा भएपछि सिसि क्यामेरा राख्ने काम अन्य निकायले पनि गर्न सक्छ ” उनले भने । उनका अनुसार वजार क्षेत्रलाई पुरै समेट्ने गरी सिसी क्यामेरा जडानको काम अगाडि वढ्नेछ । इलाका प्रहरी कार्यालयले वनाएको गुरुयोजना अनुसार १०१ वटा नै सिसी क्यामेरा जडानका लागि प्रदेश र संघ सरकारसँग समन्वय गरिने उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

उनले स्थानीय व्यावसायिक संगठनहरुले पनि यसमा सघाउन सक्ने समेत वताए । “एक वर्षभित्र नै पुरै वजारभरि सिसी क्यामेरा हुनेछन् त्यसका लागि विभिन्न निकायसँग हामीले सहकार्य गर्नेछौ ” नगरप्रमुख पाण्डेले भने । उनका अनुसार अत्यन्त आधुनिक सिसी क्यामेरा जडान गर्नेगरी उपमहानगरपालिकाले योजना अगाडि वढाएको हो ।

पहिलो चरणमा २० वटा सिसी क्यामेराहरु तुलसीपुरका मुख्य प्रवेशद्धारसँगै चोकहरुमा जडान गरिने इन्जिनियर पवन योगीले जानकारी दिए । उनले गुरुयोजना अनुसार नै क्यामेरा जडान गरिने वताए । इलाका प्रहरी कार्यालयको समन्वयमा क्यामेरा जडान गर्न थालिएको पनि इन्जिनियर योगीले जानकारी दिए । उपमहानगरपालिकाले निकालेको टेण्डर अनुसार काम भए कात्तिक महिनाभित्रमा तोकिएका ठाउँमा सिसी क्यामेरा जडान भयसक्ने पनि इन्जिनियर योगीले वताए ।

वजार क्षेत्रमा सिसी क्यामेरा जोडिन लागेको भन्दै व्यवसायीहरुले खुसी व्यक्त गरेका छन् । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतले सकारात्मक कदम भएको भन्दै व्यवसायीले सघाउने समेत वताए । “वजार क्षेत्र सुरक्षित हुने आशा पलाएको छ ” उनले भने । त्यस्ते व्यवसायीहरुको अर्को संगठन तुलसीपुर चेम्वर अफ कमर्शका अध्यक्ष टोपवहादुर घर्तीले पनि सबै क्षेत्रमा क्यामेरा जडानका लागि पहल गर्ने वताए । उनले वजार क्षेत्रलाई सुरक्षित राख्नका लागि सिसी क्यामेराको भुमिका महत्वपूर्ण हुने कुरामा समेत जोड दिए ।

प्रकाशित मिति : २०७६ असोज ५ गते आइतवार
प्रतिक्रिया