छाडा पशुचौपायाले ब्यवसायी पनि आजित

ओमप्रकाश गुप्ता, लमही २ असोज । दाङ जिल्लाको मुख्य बजारको रुपमा रहेको लमही बजार बसपार्कमा छाडा रुपमा रहेका पशुचौपायालाई नियन्त्रण गर्न नगरपालिकाले पहल नथालेको गुनासो बढेको छ । लमही बजारको बसपार्क र बजार क्षेत्रमा छाडा पशुचौपायाले बजार कुरुप बन्दै गएको र दुर्घटनाको जोखिम बढेको थाहा हुँदाहुँदै पनि लमही नगरपालिकाले कुनै चासो नदिएको स्थानीयहरुले गुनासो गर्न थालेका छन् ।

सडक तथा बजारमा सवारी साधनको चाप दिनप्रतिदिन जति बढिरहेको छ, त्यनि नै रुपमा छाडा पशु चौपायाको संख्या पनि थपिने गरेको छ । बजारका चोक होस् या गल्लीमा छाडा पशु चौपायाको चापले सवारी आवागमनमा त समस्या हुने गरेको छ नै चोक–चोकमा बेच्नका लागि राखिएका तरकारी र ठेलामा पनि छाडा चौपायाले बिगबिगी मच्चाउने गरेको व्यापारीहरुले बताएका छन् ।

अहिले सडकमा गाई गोरुहरुको राज देखिन्छ । छाडा पशुचौपायाले बजारका चोक तथा सडकमा रहेको फुटपाथमा व्यवयाय गर्ने व्यवसायी बढी मारमा पर्ने गरेका छन् । बजारमा आएको पशु चौपायाले आफूहरुले बेच्नका लागि राखेको तरकारी खाँदा हैरानी खेप्नुपरेको व्यवसायी अब्दुल रहिमले बताए ।

लमही नगरपालिकाले गत बर्ष छाडा पशुचौपायालाई कपिलवस्तु लगेर ब्यबस्थापन गरेको थियो । त्यसको १ बर्ष पछि पुनः सो समस्याले अहिले बिकराल रुप लिएको छ । यस बिषयमा लमही नगरपालिकाका प्रबक्ता बिमबहादुर केसीले कार्यपालिकाको बैठक बसेर समस्या हल गर्न तर्फ लाग्ने र त्यसको लागि सबै भन्दा पहिला डाटा संकलन गर्ने बताए । तर सो समस्या तत्कालै नगरपालिकाले मात्र हल गर्न नसकिने हुँदा सवैले साथ दिनुपर्ने बताए ।

फाईल तस्वीर

प्रकाशित मिति : २०७६ असोज २ गते बिहिवार
प्रतिक्रिया