विदेशीलाई नागरिकता दिने वडाध्यक्ष सहित ४१ जना फरार

 

झापा १ असोज

विदेशी नागरिकलाई नागरिकता दिएको आरोपमा वडाध्यक्ष सहित ४१ जना फरार रहेका छन् । जिल्ला प्रशासन कार्यालय झापाबाट १६ जना विदेशीलाई नागरिकता दिएको आरोपमा बिर्तामोड नगरपालिका–८ का वडाध्यक्ष अजय कार्की, भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष शनिलाल राजवंशी, जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत गौरब ढुङ्गेल, नायब सुब्बा मेघराज निरौला, प्रशासकीय अधिकृत चुडाराज भट्टराई, टोली प्रमुखद्वय नारायण काफ्ले र चिरञ्जीवी अधिकारी, भद्रपुर नगरपालिका–९ का वडासचिव अरुणा भट्टराई, तत्कालीन बाहुनडाँगी र शरणामती गाविसका सचिव भवकृष्ण न्यौपाने फरार रहेका छन् । फरार सबैको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए ।

घटनामा संलग्न पाँच जना यसअघिनै पक्राउ परेका छन् । पक्राउ पर्नेमा  प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपाने र बिर्तामोड नगरपालिका–८ वडा कार्यालयका वडासचिव लोकराज बराल, बिर्तामोड–५ का टेकबहादुर गुरुङ, भद्रपुर नगरपालिका–१० का प्रेम तिम्सिना र भद्रपुर–१० धनुषमोडका बिकेन्द्र भन्ने भीमबहादुर लिम्बुलाई पक्राउ रेहेका छन् । नागरिकता दिइएको १६ जना विदेशीलाई नागरिकता जारी गर्दा नौ जनाको बाबुआमा एउटै कायम गरिएको छ। यस घटनामा विभिन्न एजेन्ट र बिचौलियामार्फत नक्कली जन्मस्थान कायम गराएको खुलेको छ।

 

प्रकाशित मिति : २०७६ असोज १ गते बुधवार
प्रतिक्रिया