सल्यानमा भुस्याहा कुकुरको बिगबिगी,८ चौपाय मरे

बुद्धि पुन,सल्यान असोज १ । सल्यानमा भुस्याहा कुकुरको बिगबिगी बढ्न थालेको छ । जिल्लाको शारदा नगरपालिका ५ रानीकोटमा दुई साता यता भुस्याहा कुकुरको बिगबिगी बढ्न थालेको हो । कुकुरले घरमा पालेका बस्तुभाउहरुलाई आक्रमण गर्न थालेपछि स्थानिय चिन्तित बनेका छन् । आफूले पालेका पशुचौपाया कुकुरले खाइदिने क्रम बढेपछि यस क्षेत्रका स्थानीयवासी आजित भएका छन् ।

दुई साताको अबधिमा मात्रै ८ वटा पशुचौपाया भुस्याहा कुकुरको आक्रमणबाट मरेको स्थानिय रोषण बिष्टले बताउनुभयो । उहाँका अनुसार स्थानिय खिम बहादुर बिष्टको १ वटा बोका, दयाराम आचार्यको २ वठा भेडा, अशोक भण्डारीको २ वटा बाख्रा, दिपा थापाको १ वटा बाख्रा, ओपेन्द्र बिष्टको १ वटा बोका कुकुरले आक्रमण गर्दा मरेका छन् ।

यस्तै अशोक भण्डारीको १ वटा बाख्रा भेटिएको छैन् भने कुकुरको आक्रमण बाट स्थानियले पालेका ३ वटा बाख्रा घाईते भएका छन् । गोठमा नै आएर कुकुरले पशुचौपाया माथि आक्रमण गर्ने र साना पशुचौपाया मारेर खाने गरेको उहाँको भनाइ छ ।
उहाँले ५÷७ वटा कुकुरको बगाल नै आउने भएकाले धपाउनमा झन् समस्या हुने गरेको बताउनुभयो । गाउँमा प्रत्येक दिन कही न कही कुकुरले पशुचौपायालाई टोक्ने कि त मार्ने गरेको स्थानियहरुको भनाइ छ । धेरै पटक सम्बन्धित निकायमा गुनासो राखे पनि सुनवाइ नभएको स्थानीयवासीको भनाइ छ । भुस्याहा कुकुरको नियन्त्रण नहुँदा दिनप्रतिदिन कुकुरको संख्या बढ्दै गइरहेको उनीहरूले बताएका छन् ।

प्रकाशित मिति : २०७६ असोज १ गते बुधवार
प्रतिक्रिया