गुणस्तरीय सेवाले जनताको मन जित्नुपर्छ

काठमाडौँ, भदौ २२  । नेपालको निजामती प्रशासन सुशासनप्रति अझ प्रतिबद्ध र नतिजामुखी हुनैपर्नेमा विज्ञहरूको जोड छ । छिटोछरितो र सहज ढङ्गले सरकारी सेवा प्राप्त होस् भन्ने अपेक्षा जनताले राखेकाले राष्ट्रसेवक कर्मचारीले बिनाझन्झट समयमै गुणस्तरीय सेवा दिएर आफ्ना कामकारबाहीबाट जनताको मन जित्नुपर्छ भन्ने सुझाव पनि आएका छन् ।

नागरिकलाई आफ्नो उपस्थिति र न्यायमा आधारित सुशासन प्रदान गर्न राज्यले निजामती प्रशासनको व्यवस्था गरेको हुन्छ र तिनै कर्मचारीले मनाउने दिवस हो– निजामती दिवस । आइतबार विविध कार्यक्रमका साथ १६औँ निजामती दिवस भव्य रूपमा मनाइँदै छ । यस वर्षको नारा ‘सक्षम निजामती प्रशासन : विकास, समृद्धि र सुशासन’ तय गरिएको छ । स्थानीय तह, प्रदेश र सङ्घमा गरी करिब ९३ हजार कर्मचारी कार्यरत छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले परिवर्तित सन्दर्भमा राष्ट्रसेवक कर्मचारीले सेवाप्रति इमानदार, कर्तव्यप्रति निष्ठावान्, जनताप्रति उत्तरदायी, कानुनसम्मत रूपमा अगाडि बढ्नु नै निजामती सेवा दिवसको सफलता हुने बताउनुभएको छ ।
प्रशासनविज्ञ काशीराज दाहाल संविधानको मार्गचित्रभित्र रही प्रशासनले आमजनतालाई बिनाझन्झट समयमै गुणस्तरीय सेवा दिन सक्नुपर्छ भन्नुहुन्छ ।

अनुमानयोग्य कार्यप्रणाली, अधिकार दुरुपयोगको नियन्त्रण, अपराध रोकथाम, दण्डहीनता अन्त्य, जिम्मेवारी बोधजस्ता कुराबाट परिणाममुखी नतिजा दिन सक्नुपर्छ भन्दै उहाँले निजामती प्रशासनले आफ्ना कामकारबाहीबाट जनताको विश्वास र भरोसा बढाउन कर्मचारी प्रशासन जनमुखी र नतिजामुखी हुनैपर्नेमा जोड दिनुभयो । जनताले तिरेको करबाट निजामती प्रशासन चल्ने भएकाले कर्मचारीतन्त्र जनतामुखी होस् भन्ने अपेक्षा बढ्दो छ ।

प्रकाशित मिति : २०७६ भाद्र २२ गते आइतवार
प्रतिक्रिया