अख्तियारले थप ५८ जनालाई बयानमा बोलायो

 निराजन पौडेल

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा किनबेच प्र्रकरणमा मुछिएका सबैलाई छानबिनको दायरामा ल्याएको छ । ५८ जनामध्ये ५४ जना ललिता जग्गा किनबेचमा मुछिएका छन् । यसअघि अख्तियारले ८९ जनालाई बयानमा बोलाइसकेको छ ।
ललिता निवासभित्र पर्ने बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा कायम गरेको भेटिएपछि जग्गाधनीसँग बयान गर्न लागिएको हो । सरकारले जग्गाधनीलाई मुआब्जा दिई अधिकरण गरिसकेको जग्गा पुनः मालपोत कार्यालयले अनधिकृत व्यक्तिलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेको पाइएपछि अनुसन्धान थालेको हो ।
२०६२ सालमा छानबिन समितिले भूमाफिया किटान गरेका डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीलगायतले सो जग्गा सस्तोमा किनेका थिए । पछि मन्त्रिपरिषद्, मुख्य सचिव, सचिव, मालपोत कर्मचारीलगायतलाई प्रभावमा पारी भूमाफिया र व्यापारीले बालुवाटारको जग्गा प्लटिङ गरेर आधा दर्जन व्यापारिक घराना, गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत पहुँच र प्रभाववालालाई बेचेका थिए ।

पूर्वमन्त्री गच्छदारबाहेक अरूसँग बयान पूरा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारबाहेक सबैसँग एक चरणको बयान पूरा गरिसकेको स्रोतले जनायो । मन्त्री हुँदा उनले ललिता निवास जग्गाको विषयमा नीतिगत निर्णय गर्न सिफारिस गरेका थिए ।

प्रकाशित मिति : २०७६ भाद्र १९ गते बिहिवार
प्रतिक्रिया