गौहत्या प्रकरण घटना लुकाउन खोजिँदै

 भवनाथ प्याकुरेल

काठमाडौं। नेपालगन्जबाट दैलेख लैजान लागिएका गाई सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवामा मृत भेटिएको घटनालाई लुकाउन खोजिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा गाईगोरुले दुःख दिएको भन्दै सर्वदलीय बैठक गरी ती गाईगोरु दैलेख लैजान स्वीकृति दिएको थियो । नगरपालिका प्रमुख डा. धवलशमशेर राणाले कर्मचारीले गाईलाई मारेको नभई ट्रकमा च्यापिएर मरेको दाबी गरेका छन् ।

तर, स्थानीयले गाईलाई भीरबाट खसालिएको बताएका छन् । सो प्रकरणपछि चौतर्फी विरोध भएको छ भने घटनाको सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरिएको छ । गृह मन्त्रालयले मृत भेटिएका ३० वटा गौहत्या प्रकरणबारे छानबिन गर्न समिति गठन गरेको छ । शनिबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको जनाएको छ । गाई मारिनुको कारणबारे छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन गृहले समितिलाई निर्देशन दिएको छ ।

छानबिन समितिका संयोजक सागरमणि पाठकले घटना संवेदनशील भएकाले दोषी पत्ता लगाई कारबाहीको सिफारिस गरिने बताए । उनले एक–दुई दिनभित्रै घटनास्थल पुगेर सत्यतथ्य पत्ता लगाउने प्रतिबद्धता जनाए ।
मृत गाईको व्यवस्थापनको जिम्मेवारी वीरेन्द्र नगरपालिकालाई दिइएको छ । गत बुधबार राति कटकुवा जंगलमा गाई भीरबाट खसालिएको अवस्थामा भेटिएको थियो । नेपालगन्जस्थित कान्जी हाउसबाट दैलेख लैजाने भन्दै ३ सय ७० वटा गाईगोरु जिल्ला प्रशासन कार्यालय बाँकेको सिफारिसमा ८ वटा ट्रकमा ल्याइएको थियो । ती गाईगोरु बाटोमा फाल्दै ल्याइएको भेटिएको थियो । वीरेन्द्रनगरको कटकुवा क्षेत्रमा बेवारिसे छोडिएकामध्ये १ सय ४४ वटा गाई नेपालगन्ज फिर्ता पठाइएको छ ।

यस्तो छ कानुनी प्रावधान

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २७ मा पशुपन्छीसम्बन्धी कसुरको व्यवस्था छ । दफा (१) मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्नु गराउन नहुने उल्लेख छ । यदि कसैले त्यस्तो कसुर गरेमा तीन वर्षसम्म कैद हुने व्यवस्था संहितामा छ ।

प्रकाशित मिति : २०७६ भाद्र १५ गते आइतवार
प्रतिक्रिया