रोल्पामा श्रीमतीलाई माइत पुर्‍याएर फर्कँदै गर्दा जीप दुर्घटनामा श्रीमानको मृत्यु

तुलसीपुर,१४ भदौ ।  तिज मनाउन श्रीमतीलाई माइत पुर्‍याएर फर्कने क्रममा जीप दुर्घटनामा परेर श्रीमानको ज्यान गएको छ । श्रीमती र छोरीलाई सदरमुकाम लिबाङबाट रोल्पा नगरपालिका–७ निम्री पुर्‍याएर फर्कने क्रममा भे १ ज ४६५६ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । दुर्घटनामा रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षीय चालक दिलबहादुर बुढामगरको ज्यान गएको हो ।

हिमताल यातायात प्रालिको जीप सडकबाट २ सय मिटर तल माडी खोलामा खसेको हो । दुर्घटनालगत्तै स्थानीय र प्रहरी घटनास्थल पुगेका थिए । वर्खायाममा खोला ठूलो भएकाले जीपभित्र अन्य मानिस भए-नभएको पत्ता लगाउन कठिन भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०७६ भाद्र १४ गते शनिवार
प्रतिक्रिया