बलात्कारपीडित पूजाको मुद्दा ३०औं पेशीमा

निराजन पौडेल

काठमाडौं। सात वर्षअघि सामूहिक बलात्कारमा परेकी बैतडीकी पूजा बोहरा (नाम परिवर्तन) को मुद्दा सर्वोच्च अदालतमा ३०औं पेशीमा चढेको छ । अदालतले उनको मुद्दामा १५ पटक हेर्न नभ्याउने सूचीमा राखेको छ । तीन पटक स्थगित र एक पटक फाइल मगाउने आदेश भएको थियो । सो मुद्धामा दुई पटक साप्ताहिक पेशीबाट हटाइएको छ । तर, अझै न्यायालयमा उनको मुद्दा हेर्ने फुर्सद न्यायाधीशलाई मिलेन ।

बलात्कृत भएको सात वर्ष पुग्यो तर उनले अझै न्याय पाउन सकेकी छैनन् । सात वर्षमा उनले धेरै आरोह र अवरोह खेपिसकेकी छिन् । एसएलसी परीक्षाको तयारीका लागि गेसपेपर किन्न जाँदा स्टेसनरी पसले सागर भट्ट र अमरराज अवस्थीले नशालु पदार्थ सेवन गराएर उनलाई बलात्कार गरेका थिए ।

बलात्कारपछि न्यायका लागि जिल्ला अदालत बैतडीमा दर्ता गरेको उनको मुद्दामा २२ फागुनमा २०६९ मा पीडकलाई आठ वर्ष कैद र ५० हजार रुपैयाँ जरीमानाको फैसला सुनाइयो । ७ चैत २०६८ सालमा एसएलसी परीक्षाका लागि गणितको गेसपेपेर किन्न पाटन बजारमा पुगेकी पूजालाई सामूहिक बलात्कार गरिएको थियो । पाटन बजारस्थित श्रीकृष्ण उच्च माविमा उनी परीक्षा दिन बैतडीको कैलापाल गाउँबाट आएकी थिइन् । उनी बलात्कारमा परेपछि मानसिक सन्तुलन गुमाई अचेत अवस्थामा अस्पताल भर्ना भएपछि सो घटना बाहिर आएको थियो ।

तत्कालीन अवस्थामा बोहोरालाई बलात्कारपछि कसैले पनि नदेख्नेगरी फालिएको थियो । पुस्तक किन्न भनेर हिँडेकी उनी बेलुकासम्म नफर्केपछि आफन्तले खोज्न जाँदा रगताम्य भई घ्यारघ्यार गरी नालीमा लडिरहेको अवस्थामा भेटेका थिए । उनलाई त्यहाँबाट उपचारका लागि अस्पताल लगिएको थियो । सो घटनाको विषयमा सार्वजनिक रूपमा विरोध भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।

सो घटनापछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारले मन्त्रीस्तरीय निर्णय गरी १ लाख रुपैयाँ औषधोपचार खर्च पनि दिएको थियो । प्रहरीले अनुसन्धान गर्दै जिल्ला अदालत बैतडीमा जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको थियो । सो मुद्दामा सुनुवाइ गर्दै जिल्ला न्यायाधीश हिमालयराज पाठकले दुवै अभियुक्तलाई आठ वर्ष कैद र जनही ५० हजार रुपैयाँ जरिमाना गर्ने फैसला सुनाएका थिए । जिल्ला अदालतको सो फैसलापछि पीडक दुबै जना पुनरावेदन अदालत गए । तर, तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र नरबहादुर शाहीको संयुक्त ईजलासले पिडक दुवैलाई सफाई दियो । जसले पुजाको घाउ थप बल्झायो । उनले राष्ट्रिय पत्रिका मार्फत तत्कालीन कानुनमन्त्री नरहरी आचार्यलाई मेरो जिवन निमोठ्ने निर्दोष हुन् ? भन्दै खुलापत्र लेखिन् ।

उनको खुलापत्रले सामाजिक बहस सुरु भयो । २ पुस ०७१ म दर्ता भएको मुद्धाको अहिलेसम्म छिनोफानो भएको छैन । पूजाले फैसलाविरुद्ध पुनरावेदन गरेपछि सर्वोच्च अदालतमा चार प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की, गोपाल पराजुली र ओमप्रकाश मिश्रको कार्यकाल पुरा भइसकेको छ । तर कसैलाई उनको मुद्दा हेर्ने फुर्सद भएन । हालका प्र्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको कार्यकालमा मात्रै पाँच पटक मुद्दाको पेशी तोकेर हेर्न नभ्याउने सूचीमा राखिएको छ । शुक्रबार(आज) उनको मुद्दाको पेशी पुन तोकिदै छ ।

प्रकाशित मिति : २०७६ भाद्र १३ गते शुक्रवार
प्रतिक्रिया