बर्दियामा बाघको संत्रास, सातामै २ को ज्यान गयो

सुदीप अधिकारी

बर्दिया । आइतबार विहान करिव सात बजे दिनहुँ झैँ ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ खानेपानी टोलका ७० वर्षीय पहरिया थारु बंगुरलाई आहार हाल्न घर छेवैँको खोर तिर गए । बुहारी शान्ता थारु घर नजिकै रहेको शौचालयमा शौच गर्न गइन् । बंगुरलाई आहार हाल्न पहरिया बारीमा झरेका अम्बा बटुल्न थाले । अम्बा बटुलेर बंगुरलाई दिनै लाग्दा उनलाई एक्कासी बाघले झम्टियो । उनी बेस्सरी चिच्याए । शौच गरेर आँगनमा पुगिसकेकी शान्तीले ससुराको चिच्चाहट सुनिन् ।

आँगनबाट हेर्दा ससुरालाई बाघले घाँटी च्यापेर लतारिरहेको देखेपछि होहल्ला गर्दै बाँसको लौरो समातेर बाघ तिरै दगुरिन । बाघको नजिकै गएर हल्ला गर्दै पटकपटक लौरो भुइमा पर्छार्दै तर्साएपछि बल्ल बाघले पहरियालाई छाड्यो । अनि बाघ निकुञ्ज तर्फ भाग्यो । यतिञ्जेल पहरियाको ज्यान गइसकेको थियो ।
यसैगरि अघिल्लो बिहीबार दिउँसो गेरुवा गाउँपालिका–४ गोला गाउँकी ५६ वर्षीया रामकली शाहीका ४÷५ जनाको समूहमा सामुदायिक वन नजिकैको खोला किनारमा घास काट्न गएकी थिइन् । घाँस काट्दै गर्दा शाहीलाई बाघले एक्कासी आक्रमण गरेयो । बाघले उनलाई लर्तार्दै नजिकैको जंगलमा लग्यो । शाहीसँगै घाँस काट्न गएको अन्यले गाउँलेलाई खबर गरेपछि गाउँलेहरुले बाघको पञ्जाबाट शाहीलाई त छुटाए । तर उनको सास जोगाउन सकेनन् । बाघको पञ्जामा परेकी शाहीको घटनास्थलमै ज्यान गयो ।

हप्तादिन नपुग्दै बाघको आक्रमणमा परेर यहाँ २ जनाको ज्यान गएको छ । गाउँबस्तीमै पसेर बाघले आक्रमण गर्न थाले पछि यहाँ बाघको संत्रास फैलिएको छ । निकुञ्ज छेउँका बासिन्दाहरु त्रसित छन् । ‘बाघको बासस्थानमा जाँदा आक्रमणमा पर्नु त बेग्लै हो । अब त बाघ नै बस्तीमा आएर आक्रमण गर्न थाल्यो । यो भन्दा डरलाग्दो के हुन सक्छ,’ स्थानिय अमरलाल तिमिल्सेनाले आक्रोश पोखे । यस्ता घटनाले मानव वन्यजन्तु विचको द्धन्द्ध बढ्न सक्ने भन्दै उनले बाघको बासस्थानलाई समयमै व्यवस्थित गर्नु पर्ने बताए ।

प्रकाशित मिति : २०७६ भाद्र ८ गते आइतवार
प्रतिक्रिया