सेनाले जोगाए गर्भवती महिलाको ज्यान

 एम के माझी

राजविराज । अत्याधिक रक्तश्रावका कारण जिवनमरणको दोसाधमा रहेकी एक गर्भवती महिलालाई नेपाल सेनाका जवानले रक्तदान गरि नयाँ जिवन दिएका छन् ।

यहाँस्थित भिमदल गणमा कार्यरत अमलदार माधवराज राणा र दिपेन्द्र सिंह साउदले रक्तदान गरी सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ बस्ने गर्भवती महिला रामवत्ती मुखियाको ज्यान जोगाएका हुन् ।

बुधबार साँझ प्रशव व्यथाले च्यापेपछि आफन्तले सिटी रिक्सामा राखेर रामवत्तिलाई सदरमुकाम राजविराजस्थित अनारभुवनेश्वर अस्पतालमा पु-याएका थिए । अत्याधिक रक्तश्रावका कारण तुरुन्तै ए पोजेटिभ समूहको रगत व्यवस्था गर्न चिकित्सकले महिलाका आफन्तलाई भनेका थिए ।

रक्तसञ्चार केन्द्रदेखि अन्य विभिन्न संघसंस्था र व्यक्तिमा रगतका लागि भौतारिँदा पनि सो समूहको रगत फेला नपरेपछि आफन्त सेनाको शरणमा पुगेका थिए । मानविय आधारमा तत्कालै गणका सेनाहरुको रगत परिक्षण गर्न लगाई ए पोजेटिभ रगत समूह फेला परेका अमलदार राणा र साउदले रक्तदान गरि गर्भवती महिलाको ज्यान जोगाएको गणका कार्यअधिकृत सेनानी अमर बहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ भाद्र ५ गते बिहिवार
प्रतिक्रिया