ईलाका प्रशासन कार्यालय तुलसीपुरको भवन सम्पन्न, अवको तिन महिना भित्र आफनै भवनबाट सेवा दिने

  • लक्ष्मण विश्वकर्मा, तुलसीपुर ५ भदौ । ईलाका प्रशासन कार्यालय दाङ तुलसीपुरले अवको तिन महिना भित्र आफनै कार्यालय भवनबाट सेवा दिने गरी तयारी गरेको छ ।तुलसीपुर ५ राप्ती प्रादेशिक अस्पताल देखी उत्तरपुर्व तर्फ रहेको आफनै जग्गामा सुविधा सम्पन्न अढाई तला भवन निर्माण गरेको छ ।ईलाका प्रशासन कार्यालय तुलसीपुरको नाममा रहेको ६७७.२६ (छ सय सतहत्तर दशमलव छब्विस)वर्गमिटर जमिनमा पक्की भवन निर्माण गरीएको हो ।
    कार्यालयको भवन निर्माण कार्य हाल सम्पन्न भईसकेको छ । गृह मन्त्रालयबाट प्राप्त दुई करोड उन्चास लाख दश हजार दुई सय तिन रुपैयाको लागतमा १७ कोठे भवन निर्माण भएको कार्यालयका निमित्त प्रमुख श्रीधर टण्डनले बताएका छन् ।उनका अनुसार अहिले भवनमा रङरोगनको काम सकिनै लागेको छ भने फर्निचरको काम मात्र अव बाँकी रहेको छ । भवन निर्माणको जिम्मा जुद्ध एण्ड पुर्ण निर्माण सेवा तुलसीपुरले पाएको थियो ।
    भवन निर्माणका लागी निर्माण कम्पनीले २०७६ असार २५ गते सम्म काम सक्ने गरी २०७४ असार २५ गते सम्झौता गरेको थियो । तर निर्धारित समयमा सम्पुर्ण कार्य पुरा हुन नसकेपछि फेरी तिन महिना थप गरी आगामी असोज २५ गते सम्म सम्पुर्ण कार्य पुरा गर्ने गरी समय दिईएको कार्यालयका निमित्त प्रमुख टण्डनले जानकारी दिएका छन् ।
    हाल सम्म लगभग सवै कार्य पुरा भएको र अव फर्निचरको काम मात्र बाँकी रहेको उनको भनाई छ । फर्निचरको काम पनि निर्माण कम्पनीले गर्नुपर्ने भएकाले असोज सम्म सवै काम सकिएपछि कात्तिक वा मंसीरको पहिलो साताबाट आफनै कार्यालय भवनबाट सेवा दिने तयारी गरिएको छ ।
    मासीक १५ हजार बचत हुने
    ईलाका प्रशासन कार्यालय तुलसीपुरले हाल तुलसीपुर ९ दोघरेमा भाडामा लिएर सेवा प्रवाह गदै आएको छ । कार्यालयका निमित्त प्रमुख टण्डनका अनुसार कार्यालयले कोठा भाडा बापत मासीक १५ हजार रुपैया तिदै आएको छ ।अव आफनै भवनमा कार्यालय सारेपछि उक्त भाडा बचत हुने कार्यालयले बताएको छ । यस अघि घोराहीरोडमा भाडामा घर लिएर कार्यालयले सेवा प्रवाह गदै आएको थियो ।घोराही तुलसीपुर सडक खण्ड अन्र्तगत हात्तीखौवा देखी तुलसीपुर चोक सम्म चारलेन सडक बाटोको योजना सुरु हुन लागेपछि कार्यालयलाई दोघरे सारिएको थियो ।
    सेवा ग्राहीलाई सहज हुने
    ईलाका प्रशासन कार्यालय तुलसीपुर राप्ती प्रादेशिक अस्पताल देखी उत्तर तर्फ रहेको आफनै भवनमा सरे पछि सेवाग्राहीलाई पनि सहज हुने भएको छ । दोघरेबाट सेवा लिदा अधिकांस नागरिकलाई कुपायक परेको थियो ।बजार देखी झन्डै एक डेढ किलोमिटर पश्चिम तर्फ कार्यालय भएकाले सेवाग्राहीहरुलाई समस्या भएको थियो । विच बजारको छेउमै कार्यालय सन्चालनमा आए पछि सेवा लिन आउने अधिकांस सेवाग्राहीलाई सहज र पाएक पर्ने देखीन्छ ।

प्रकाशित मिति : २०७६ भाद्र ५ गते बिहिवार
प्रतिक्रिया