पश्चिम दाङमा राहदानी लिनेको संख्या घट्यो

लक्ष्मण विश्वकर्मा,तुलसीपुर २ भदौ । पश्चिम दाङमा राहदानी लिनेको संख्यामा कमी आएको एक तथ्याङले देखाएको छ । ईलाका प्रशासन कार्यालय तुलसीपुरले दिएको तथ्याङक अनुसार पछिल्लो समयमा राहदानी लिनेको संख्यामा कमी आएको हो । कार्यालयको तथ्याङक हेर्दा वितेको आर्थिक वर्ष ०७५÷०७६ मा ४ हजार ८ सय ३५ जनाले राहदानी लिएका छन् ।

जसमा ३ हजार ३ सय ८८ जनाले कार्यालयबाट राहदानी बनाएका छन् भने द्रुत सेवा अन्र्तगत १ हजार ४ सय ४७ जनाले राहदानी बनाउने सिफारिस लिएको कार्यालयका निमित्त प्रमुख श्रीधर टण्डनले जानकारी दिएका छन् । उनका अनुसार राहदानी लिनेमा ३ हजार ६ सय २० जना पुरुष रहेका छन् भने १ हजार २ सय १५ महिलाको संख्या रहेको छ । यस्तै गरी आर्थिक वर्ष ०७४÷७५ मा कार्यालयबाट ५ हजार १ सय ४७ जनाले राहदानी लिएका छन् ।

कार्यालयबाट ३ हजार २ सय ७३ जनाले राहदानी लिएका छन् भने द्रुत सेवा अन्र्तगत १ हजार ८ सय ७४ जनाले सिफारिस लिएको कार्यालयका निमित्त प्रमुख टण्डनले जानकारी दिएका छन् । यसरी दुई आर्थिक वर्षको तुलनामा वितेको आर्थिक वर्षमा राहदानी बनाउनेको संख्यामा तिन सय बाह्रले कमी आएको छ ।

सरकारद्धारा मलेसिया जाने प्रक्रिया बन्द हुनु,बैदेशिक प्रक्रियामा कडाई गर्नु, राहदानीको अवधी दश वर्षको हुनु लगाएतका कारणले राहदानी बनाउनेको संख्यामा कमि आएका हो ।

प्रकाशित मिति : २०७६ भाद्र २ गते सोमवार
प्रतिक्रिया