राजेन्द्र महतो सहित ८ जनाको नेपाली नागरिकता रद्द

काठमाडौ, १९ साउन । सरकारले झुठो विवरण पेस गरी नागरिकता लिने ८ जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको छ । गत साउन १६ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार झूठो विवरण पेस गरेर नेपाली नागरिकता लिएका ८ जनाको नागरिकता रद्द भएको हो । नागरिकता रद्द हुनेमा अशोक साह, बिन्दे महतो, वैवाहिक अंगिकृतको नागरिकता लिएकी उनकी श्रीमती दानादेवी महतो, दानादेवीकी बुहारी सोसील महतो रहेका छन् । यस्तै राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको समेत नागरिकता रद्द गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले मंसिर १४ गते तीनै तहको उपनिर्वाचन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले निर्वाचन आयोगले सिफारिस गरेकै मितिमा सरकारले उपनिर्वाचनको मिति तोकेको जानकारी दिनुभएको हो । नेपालको संविधानअनुसार निर्वाचनको मिति घोषणा गर्ने अधिकार सरकारलाई रहेको छ । तीन वटै तहका रिक्त ५० स्थानमा एकै दिन निर्वाचन गराउन आयोगले सुझाव दिएको थियो । देशभर प्रतिनिधिसभा सदस्यमा १, प्रदेशसभा सदस्यमा ३, नगर प्रमुखमा १, गाउँपालिका अध्यक्षमा ३, गाउँपालिका उपाध्यक्षमा १ र वडाध्यक्षमा ४१ पदहरु रिक्त छन् ।

प्रकाशित मिति : २०७६ साउन १९ गते आइतवार
प्रतिक्रिया