विकास प्राधिकरणका लागि सामग्री खरिद गरिदै

तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिकाले विकास प्राधिकरणका लागि उपकरण प्रक्रिया अगाडि वढाउने भएको छ । कार्यपालिकाको ६६ औ वैठकले प्राधिकरणका लागि आवश्यक पर्ने उपकरण खरिद प्रक्रिया अगाडि वढाउन लागेको नगर प्रवक्ता सुर्यबहादुर डाँगीले जानकारी गराएका छन् । उपमहानगरपालिकामा यो वर्ष ६० किलोमिटर सडक निर्माण गर्ने गरी सडक पूर्वाधार निर्माणको कामलाई अगाडि वढाएको छ ।

प्राधिकरणको काम छिटो अगाडि वढाउनका लागि उपमहानगरपालिकाले उपकरण टेण्डर गरेर खरिद प्रक्रिया अगाडि वढाउन लागेको प्रवक्ता डाँगीले जानकारी दिए । उनका अनुसार प्राधिकरणका लागि आवश्यक पर्ने रोलर, टिप्पर, ग्रेडर, पानी ट्यांकी, विटुमिन उमाल्ने उपकरण, चिप्स मिक्सिङ प्लान्ट, एक्जाभेटर एक एक वटा र कम्प्रेसर २ वटा खरिद गर्ने भएको छ ।

नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको कार्यपालिकाको वैठकले कच्ची घरहरुको अभिलेखीकरण र पुराना घरहरुको नक्सापासका लागि पुस मसान्तसम्मका लागि म्याद थप गर्ने निर्णय गरेको छ । यसका साथै अवदेखि नयाँ घर वनाउँदा वडा कार्यालयको अनिवार्य रुपमा सिफारिस गर्नुपर्ने प्रावधान समेत वैठकले तोकेको छ ।

यसैगरी बैठकले यो आर्थिक वर्षको योजना समयमै सम्पन्न गर्नका लागि असोज महिनाभित्र अनिवार्य रुपमा उपभोक्ता समिति गठन गर्नुपर्ने, पुस मसान्तसम्म योजना सम्झौता र चैत्र मसान्त सम्म योजना सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ । यसका साथ वैठकले विभिन्न वडामा रहेको प्राविधिक अभावलाई पूर्ति गर्नका लागि करारमा भर्ना गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : २०७६ साउन १५ गते बुधवार
प्रतिक्रिया