बाढि, पहिरो र डुवानमा परि हाल सम्म १ सय ११ जनाको मुत्यु

काठमाडौ, १० साउन । यस बर्षको मनसुन सुरु भएसंगै विपदका कारण मुलुकभर १ सय ११ जनाले अकालमै ज्यान गुमाएको एक तथ्याङकले देखाएको छ । गृहमन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले सार्वजनिक गरेको साउन ९ गते सम्मको तथ्याङक अनुसार विपदमा परेर देशभर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् ।पहिरोमा परि मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् । यस्तै बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए । बाढीबाट मात्रै ५८ जनाले ज्यान गुमाएका छन् भने पहिरोबाट ४५ र भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका हुन् ।

बाढीबाट १ सय २८ घटना भयो भने पहिरोका कारण २ सय ८ घटना भएको केन्द्रले जनाएको छ ।बाढीबाट ३१ जना तथा पहिरोमा परेर नौ जना बेपत्ता भएका छन् ।अहिलेसम्म बाढीबाट एक अर्ब रुपैया भन्दा बढीको क्षति भएको अनुमान छ । यस्तै पहिरोबाट दुई करोड रुपैया भन्दा बढीको क्षति भएको छ । देशभर हाल सम्म बाढी, पहिरो र डुवानबाट ६४ जिल्ला प्रभावित भएको केन्द्रले बताएको छ ।

सिराहामा सात र ललितपुरमा छ जनाले ज्यान गुमाएका छन् । सिन्धुली, धनुषा, मकवानपुर र भोजपुरमा पाँच–पाँच तथा महोत्तरी, मोरङ, ओखलढुङ्गा, लमजुङ र डोल्पामा चार–चार जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोमा परेर काठमाडौँ, पर्सा, खोटाङ, झापा, काभ्रेपलाञ्चोकमा तीन–तीन, सुनसरी, धादिङ, दाङ र बारामा दुई–दुई जनाको ज्यान गएको छ । उदयपुर, पाँचथर, सङ्खुवासभा, इलाम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, बाग्लुङ, पाल्पा, कपिलवस्तु र रोल्पामा एक–एक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।
बाढीपहिरोमा परेर ४० जना बेपत्ता छन् । डोल्पामा सात र लमजुङमा छ जना अझै बेपत्ता छन् । सिन्धुलीमा चार, इलाम र मोरङमा तीन–तीन, नुवाकोट, उदयपुर, महोत्तरी र सिन्धुपाल्चोकमा दुई(दुई जना बेपत्ता छन् । झापा, सुनसरी, काठमाडौं, धादिङ, रौतहट, पर्सा, तनहुँ, दाङ र कञ्जनपुरमा एक–एक जना वेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २०७६ साउन १० गते शुक्रवार
प्रतिक्रिया