पहिरोमा परी ज्यान गुमाउनेको संख्या १३ पुग्यो

दाङ, ९ साउन । गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर ३ र ४ को विभिन्न वस्तीमा गत सोमबार राति बर्षातका कारण गएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । पहिरोमा पुरिएर बेपत्ता भएका वडा नम्वर ४ लिम्घाकी ८ वर्षीया तारा विकको शव नेपाली सेनाको टोलीले आज विहान निकाले पछि ज्यान गुमाउने संख्या १३ पुगेको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाको दुई वटा वडाको विभिन्न बस्तीमा बर्षातका कारण पहिरोमा परी मंगलवार ९ जनाको शव फेला परेको थियो । पहिरोमा परी ४ जना बेपत्ता भएकोमा लिम्घाका डेढ वर्षका सञ्जु विक , वडा नम्बर ३ को ठुलोलुम्पेकमा माया विक र बवि विक गरी तिन जनाको शव बुधवार साँझ फेला परेको थियो भने विहिवार एक जनाको शव फेला परेको हो । गाउँपालिकाको ठूलोलुम्पेक र लिम्घामा गरी ६ सय भन्दा बढी स्थानीय विस्थापित बनेका छन् । विस्थापित भएकाको तत्कालका लागि अस्थायी क्याम्प निर्माण गरी व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।विस्थापितहरुका लागि खाद्यान्नको समस्या भएपछि बुधवार नेपाली सेनाको हेलिकप्टरबाट खाद्य सामग्री वितरण गरिएको थियो ।

प्रकाशित मिति : २०७६ साउन ९ गते बिहिवार
प्रतिक्रिया