गतबर्ष भन्दा १९ करोड बढी राजश्व असुली

ओपेन्द्र बस्नेत ,तुलसीपुर, ९ साउन  ।  आन्तरीक राजश्व कार्यालय तुलसीपुरले गत बर्षको तुलनामा आर्थिक बर्ष २०७५÷०७६ मा ९ दशमलव २५ प्रतिशतले राजश्व असुलीमा वृद्धि भएको जनाएको छ । आर्थिक बर्ष २०७४÷०७५ लाई तुलना गर्दा आर्थिक बष २०७५÷०७६मा १९ करोड ८२ लाख १८ हजार रुपैयाँले बढी राजश्व असुली भएको कार्यालयका सुचनाअधिकारी लक्ष्मणसिंङ श्रेष्ठले जानकारी दिनुभयो ।
अघिल्लो बर्ष एक अर्ब ९४ करोड ३४ लाख २९ हजार राजश्व असुली गरेको कार्यालयले भर्खरै सम्पन्न आर्थिक बर्षमा २ अर्ब १४ करोड १६ लाख ४७ हजार रुपैयाँ असुली गरेको थियो । सूचना अधिकारी श्रेष्ठका अनुसार यस बर्ष आयकरतर्फ एक अर्ब १४ करोड ५२ लाख ४१ हजार लक्ष्य लिएकोमा ९७ करोड ७४ लाख ६ हजार असुली भएको छ ।
त्यसैगरी घरबहाल करमा ६० लाख ३८ हजार ३ सय, व्याज करमा २ करोड २८ लाख ४३ हजार, मुल्य अभिवृद्धि करमा ६६ करोड, ५६ लाख ५१ हजार, अन्तशुल्क तर्फ ४० करोड ९८ लाख २० हजार, स्वास्थ्य सेवा कर तर्फ २८ लाख ६४ हजार, र शिक्षा सेवा कर तर्फ ९३ लाख ३९ हजार राजश्व असुली भएको छ । राजश्व असुलीमा वृद्धि भएपनि लक्ष्य भन्दा कम असुली भएको देखिन्छ । आन्तरीक राजश्व कार्यालयले २ अर्ब २१ करोग ३५ लाख राजश्व उठाउने लक्ष्य लिएको थियो । घर बहालकर, स्वास्थ्य र शिक्षामा लिदै आएको कर, स्थानीय तहलाई जिम्मा दिएपछि लक्ष्यमा पुग्न नसकिएको कार्यालयलेजनाएको छ ।
यता कार्यालयले भने व्यवसायीको कारोबारमा वृद्धि, बक्यौता असुली, बजार अनुगमनका कारण राजश्व असुलीमा वृद्धि भएको जनाएको छ । ‘तुलसीपुर र घोराही बजारलाई छोडेर बजार अनुगमन गर्ने चलन रहेछ,’ प्रमुख कर अधिकृत लिलाप्रसाद शर्माले भन्नुभयो– ‘ म आएपछि अनुगमनलाई तुलसीपुर र घोराही केन्द्रि गरियो, कर्मचारीको पनि सक्रीयता बढ्यो फलस्वरुप परिनाम पनि राम्रै देखियो ।’ दरवन्दी अनुसार कर्मचारी नहुदा केही समस्या भएको भन्दै प्रयाप्तमा मात्रामा कर्मचारी भएमा कर असुली दरलाई तिब्र पारिने प्रमुख करअधिकृत शर्माले बताउनुभयो । दाङ सहित सल्यान, रोल्पा, रुकुम, र प्युठानका क्षेत्रका करिब ८० हजार करदाता रहेको कार्यालयले बताएको छ ।

 

प्रकाशित मिति : २०७६ साउन ९ गते बिहिवार
प्रतिक्रिया