सत्यवती गाउँपालिकामा पहिरो जाँदा ९ जनाको मृत्यु, ४ जना बेपत्ता

दाङ, ७ साउन । सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा पुरिएर मृत्यु हुनेको संख्या ९ पुगेको छ । चार जना बेपत्ता छन् । पहिरोले घरहरु बगाउँदा सत्यवती गाउँपालिका वडा नम्बर ४ मा ६ जना र वडा न ३ मा ३ जनाको मृत्यु भएको हो । वडा नम्बर ४ को भिरकुनामा दुई सय मिटर माथिबाट आएको पहिरोले घर बगाउदा ३२ बर्षका निर्मला विक २९ बर्षका पम्फा विक, १२ बर्षका अञ्जली विक, ५ बर्षका हिमांशु विक तथा ७० बर्षका छली विक र ९ बर्षका सिवानी विकको मृत्यु भएको छ । यस्तै ७ बर्षका तारा विक र डेढ बर्षका एक बच्चा बेपत्ता भएको वडा अध्यक्ष दान बहादुर रानाले बताउनुभयो ।

लगातार भइरहेको वर्षाका कारण गएराति ३ बजे पहिरोले छलि विक, चन्द्र बहादुर विक, धन बहादुर विकको घर बगाएको हो । पहिरोले सूर्यलाल पौडेल, चन्द्र बहादुर विक, रीता विक, बनबहादुर विक, परी विकको घर पनि पुरेको छ । पहिरो आएको थाहा पाएपछि उनिहरुले भागेर ज्यान जोगाएको रानाले बताउनुभयो । अझै पनि १८ ÷ २० घर जोखिममा रहेकाले सबैलाई सरस्वती माबिमा स्थान्तरण गरिएको छ । त्यस्तै सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलोलुम्पेकको दाङसिङ्गामा पहिरोले घर पुरिएर तिलकुमारी तरामु र उहाँका छोरा दर्शन तरामु मगर र दुर्गा सिन्जालीको मृत्यु भएको स्थलगत रूपमा उद्दारमा खटिएका सशस्त्र प्रहरी प्रमुख दिनेश रायमाझीले बताउनुभयो । तिलकुमारीकी छोरी करिष्मा र छोरी धनी तरामु घाइते भएका छन् । घाइतेको गाउँबाट बाहिर जाने सडक अबरुद्ध भएकाले उपचार गर्न लागि लैजान समस्या भएको वडा अध्यक्ष रुक बहादुर रानाले बताउनुभयो ।

प्रकाशित मिति : २०७६ साउन ७ गते मङ्गलवार
प्रतिक्रिया