प्रेमी मृत फेला परेपछि प्रेमिका विरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता

ओपेन्द्र बस्नेत,तुलसीपुर, ६ साउन । संगै सुतेका प्रेमी मृत फेला परेपछि पे्रमिका विरुद्ध तुलसीपुरमा कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता भएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्वर २ बस्ने अन्दाजी २९ बर्षीय रमेश हमाल होटेलको कोठा भित्र झुन्डिएको अवस्थामा मृत भेटिएपछि पूर्वी रुकुमको सिस्ने गाउँपालिका–५ निबासी प्रेमिका बिमला विकका विरुद्ध किटानी जाहेरी परेको हो । आरोपीका विरुद्ध मृतककी श्रीमती अन्जु बास्तोलाले आइतबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेकी हुन् । युवतीलाई आइतबार १० दिनको म्याद थपगरी थप अनुसन्धान सुरु गरिएको छ । ‘ ‘राती ढ्वाक्क आवाज आयो । हेर्दा त बाथरुमको भेन्टीलेटरमा डोरीले पासो लगाएर झुण्डीएको अवस्थामा देखे,’ प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले पिडक युवतीलाई उदृत गर्दै भन्नुभयो– ‘वास्तविकता भने पोष्टमार्टमको रिर्पोर्ट आएपछि मात्रै भन्न सकिन्छ ।’
प्रनाउ शाहीका अनुसार युवायुवती होटेलमा गत असार ३१ गतेदेखि संगै बस्दै आएपनि हमाल भने झुण्डीएको अवस्थामा साउन २ गते राती मृत भेटीएका थिए । करिब डेढ महिना अघि सोही युवतीले इलाका प्रहरी कार्यालयमा जवरजस्ती करणी सम्बन्धी उजुरी दिएपछि प्रहरीले हमाललाई दुई दिन थुनामा राखेर छोडेको थियो । स्रोतका अनुसार पाँच लाखमा कुरा मिलेपनि युवतीले भने दुई लाख पाएकी थिइन । युवतीलाई उनका आफन्तको दबाबमा मुद्दा हाल्न लगाएपनि आगामी दिनदेखि भेट नगर्ने सर्तमा कागज गराएर छोडेको बुझीएको छ । हमाल विगत एक बर्ष देखि यातायात व्यवस्था कार्यालय तुलसीपुरको नजिकै लाइसेन्सको फारम भर्ने काम गर्दै आएका थिए । यता तुलसीपुर प्रहरीले मौखीक जानकारी गराएपनि युवतीले उजुरी नदिएको र डाक्टरी परीक्षण पनि गर्न नमानेको बताएको छ ।

प्रकाशित मिति : २०७६ साउन ६ गते सोमवार
प्रतिक्रिया