लोक सेवा आयोगद्धारा स्थानीय तहका लागि खुल्ला गरेको विज्ञापनको परिक्षा सुरु

लक्ष्मण विश्वकर्मा, तुलसीपुर, ३ साउन । लोक सेवा आयोगले स्थानीय तहका लागि खुल्ला गरेको विज्ञापनको विभिन्न तहको परीक्षा शुक्रवारबाट दाङ सहित देशभर सुुरु भएको छ ।यता दाङमा पनि शान्तीपुर्ण बातावरणमा पहिलो दिनको परिक्षा सम्पन्न भएकोे छ । लोक सेवा आयोग कार्यालय तुलसीपुर दाङले शुक्रवार बाट सुरु भएको परिक्षा केन्द्रहरुमा सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिएको छ ।
शुक्रवारबाट सुरु भएको लिखित परिक्षा अन्र्तगत परिक्षार्थीले पहिलो दिन अधिकृत छैठौ तहको परिक्षा दिएका छन् । दाङबाट अधिकृत छैठौ तहका लागी १ हजार ६ सय ३२ जनाले आवेदन दिएका थिए ।

उनीहरुको परिक्षाका लागी तुलसीपुर क्षेत्रमा ८ वटा परिक्षा केन्द्र तोकिएको थियो । शुक्रवार अपरान्ह ४ वजेदेखी सुरु भएको परिक्षा बेलुकी साढे पाँच बजेसम्म सन्चालन भएको लोक सेवा आयोग कार्यालय तुलसीपुर दाङले जनाएको छ । जसमा तुलसीपुर राप्ती बबई बहुमुखी क्याम्पस, महेन्द्र माध्यामिक विद्यालय, ग्रेट अरनीको माध्यामिक विद्यालय, डिभाईन टेम्पल एकेडेमी र राप्ती बाल एकेडेमीमा परिक्षा केन्द्र तोकिएको थियो । लोक सेवा आयोगले स्थानीय तहका लागि ९ हजार १ सय ६१ सिटका लागि विज्ञापन खोलेको थियो । ती पदका लागि देशभरबाट ४ लाख ४१ हजार १ सय ४१ को दरखास्त परेको छ ।यस्तै शनिवार पनि सहायक पाँचौ र छैठौ तहको परिक्षा हुने भएको छ ।

 

प्रकाशित मिति : २०७६ साउन ३ गते शुक्रवार
प्रतिक्रिया