पातुखोलाको आरसीसी काम सकिएन, स्थानियलाई बाढिको चिन्ता

लक्ष्मण विश्वकर्मा,तुलसीपुर २९ असार । दाङको तुलसीपुर पातुखोलाको छेउछाउमा बस्ती बसेको झन्डै डेढ दशक पछि करोडौको योजनामा आरसीसी निर्माणको काम सुरु भएको थियो । बाढिको जोखीम क्षेत्र भएको भन्दै बस्ती संरक्षणका लागी आरसीसी निर्माण गर्न लागीएको थियो । ंतुलसीपुर वडा नम्वर ५ र ९ लाई समेट्ने गरी उत्तरमा स्वर्गद्धारी टोल र दक्षिणमा अटो भिलेज सम्म झन्डै नौ सय मिटर लम्वाईको आरसीसी निर्माण गर्न लागीएको हो ।
प्रत्येक वर्ष बर्षायाम सुरु भएसंगै पातुखोला आसपासका बासीन्दाहरु बाढिको त्रासमा बस्नुपर्ने बाध्यता छ । यस वर्ष असार मसान्त सम्म सक्ने गरी आरसीसी निर्माण हुन लागे पछि स्थानिय खुसी भएका थिए । तर असार मसान्त सकिन लाग्दा काम नसकिदा त्यस क्षेत्रका बासीन्दालाई यो वर्ष पनि बाढिको उस्तै चिन्ता हुन थालेको तुलसीपुर ५ बुद्धनगर टोल निवासी ऋषिराज खरेलले बताएका छन् । विगतमा पनि बर्षा सुरु भएपछि पातुखोलामा बाढि आउँछकी भन्दै चिन्ता लाग्थ्यो उनले भने अहिले त्यस्तो समस्या हुदैनकी भनेको फेरी उस्तै समस्या हुने भयो ।
उक्त योजनाका लागी नेपाल सरकारले प्रदेश सरकारलाई दिने समपुरक अनुदान तर्फको ४० प्रतिशत र पाँच नम्वर प्रदेश सरकारको ६० प्रतिशत गरी झन्डै १० करोड बजेट विनियोजन गरीएको छ ।पातुखोलाको दुवै छेउको बस्ती बाढिको उच्च जोखीममा भएपनि अहिले एक छेउबाट मात्रै आरसीसी गरिएको छ । दुवै क्षेत्रबाट एकैसाथ काम सुरु नगरेको प्रति स्वर्गद्धारी टोल निबासी चन्द्र बहादुर वलीले गुनासो गरेका छन् । दुई तिर एकैसाथ गरेको भए राम्रो हुन्थ्यो उनले भने तर एकातिरबाट मात्रै आरसीसी गरेपछि हामीलाई झनै डर हुने भयो ।
पातुखोलाको पश्चिम क्षेत्रबाट अहिले काम भईरहेको छ ।

जसले गर्दा पुर्व तिरको बस्ती झनै जोखीममा रहेको उनको भनाई छ । यता जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय तुलसीपुरले अख्तियारी आउन ढिलाई भएकाले समयमा काम नसकिएको बताएको छ । डिभिजन प्रमुख गणेश मरासीनीका अनुसार फागुन देखी मात्रै कार्यन्वयन प्रक्रिया अघि बढेकाले बैशाख देखी मात्र काम सुरु भएको हो । जसले गर्दा छोटो अवधीमा एकैसाथ दुवै तर्फ काम गर्न नसकिएको बताएको उनको भनाई छ । उनले अहिले सम्म ५० प्रतिशत काम सकिएको बताउदै म्याद थप गरी आगामी आर्थिक वर्षको भदौबाट फेरी काम सुरु गरिने बताएका छन् ।
आरसीसी निर्माणका लागी तिन वटा निर्माण कम्पनीलाई जिम्मा दिईएको छ ।जसमा मध्यपश्चिम निर्माण सेवा तुलसीपुर, सेरम निर्माण सेवा घोराही र स्मृति विशाल कन्ट्रक्सन सेवा रोल्पा रहेका छन् । उत्तरमा स्वर्गद्धारी टोल देखी दक्षिणमा न्यनतम २१ मिटर र पातुखोला पुल देखी दक्षिणतर्फ अटो भिलेजको वरपर ४५ मिटर सम्म पातुखोलाको भाग छोडेर आरसीसी निर्माण गर्न लागीएको हो ।जमिन मुनी डेढ मिटर र जमिन माथी दुई मिटर उचार गरी जम्मा साढे तिन मिटरको आरसीसी निर्माण गर्न लागीएको हो ।

प्रकाशित मिति : २०७६ असार २९ गते आइतवार
प्रतिक्रिया