देशभर बाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या २१ पुग्यो,अझै दुई दिन लगातार पानी पर्ने,सावधानी अनपाउन गृह मन्त्रालयको आग्रह

काठमाडौ, २८ असार । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोमा परी मुलुकभरमा २१ जनाको मृत्यु भएको छ । अझै आठ जना बेपत्ता छन् भने बाढी र पहिरोमा परी नौ जना घाइते भएका छन् । सात जनाको भने शकुसल उद्धार गरिएको छ ।काठमाडौँमा र खोटाङमा तीन÷तीन जना, भोजपुर, काभ्रे, ओखलढुंगा र झापामा दुई÷दुई जना, रामेछाप, इलाम, मकवानपुर, सिन्धुली, धादिङ, ललितपुर, र पर्सामा एक÷एक जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, डीआईजी विश्वराज पोखरेलले सीआईएनलाई जानकारी दिनुभयो । रौतहटमा दुई, मकवानपुर, सुनसरी, पाँचथर, महोत्तरी, मोरङ र काठमान्डुमा एक÷एक जना गरी आठ जना बेपत्ता भएका छन् ।

अविरल वर्षले जनजीवन प्रभाति भएको छ भने ६ हजार भन्दा धेरै नागरिक विस्थापित भएका छन् । सबै भन्दा धेरै क्षति प्रदेश १, २ र ३ मा भएको छ । गृहमन्त्रालयले वर्षा र बाढीबाट प्रभावितहरुको उद्धार कार्य तिब्र पारेको दाबी गरेको छ । देशभर भएको बर्षाका कारण ठाउँ, ठाउँमा मानविय तथा भौतिक क्षति भएको र त्यसको लगत संकलन तथा उद्धार र राहत वितरणको काम सुरु भएको गृहमन्त्रालयका सूचना अधिकारी तथा उपसचिब उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।गृहमन्त्रालयले स्थानीय प्रशासन, प्रदेश र स्थानीय सरकार, रेडक्रस लगायतका संघ संस्था लगायतसँग समन्वय गरि उद्धार र राहतको कामलाई प्रभावकारी बनाएको दाबी गरेको छ ।
अझै दुई दिन झरी
अझै दुईदिनसम्म पानी परिरहने भएकाले उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । विभागका अनुसार केही दिनदेखि सक्रिय रहेको मनसुन शुक्रबार देखि थप सक्रिय भएको थियो । निरन्तरको झरी भोलिसम्म जारी रहने मौसमविद् समिर श्रेष्ठले सीआईएलाई जानकारी दिनुभयो ।आज देशका पूर्वी, मध्य र पश्चिमी क्षेत्रमा निरन्तर वर्षाको सम्भावना छ । पूर्वी र मध्य पहाडी क्षेत्रमा भारी वर्षा हुने भएकाले नदी तटिय क्षेत्रका नागरिक आज र भोलि थप सचेत हुनु पर्ने महाशाखाले जनाएको छ ।

सावधानी अनपाउन गृह मन्त्रालयको आग्रह
गृहमन्त्रालयले डुबान र पहिरोका जोखिमयुक्त स्थानमा सावधानी अपनाउन, उच्च जोखिम रहेका बस्तीहरु पहिचान गरि सुरक्षित स्थानमा सार्न, आपतकालिन खानेकुरा, कपडा, औषधी र पानीको जोहो गरि राख्न, आग्रह गरेको छ ।यस्तै नदी किनारका बस्तीमा उच्च सर्तकता अपनाउन, नदीको सतह बढ्ने भएकाले नदी आसपासबाट सर्न र बालबालिका तथा जेष्ठ नागरिकलाइ ख्याल गर्न मन्त्रालयले सूचना निकालेर आग्रह गरेको छ ।
पानी उमालेर मात्रै पिउनुस्ः चिकित्सक 
बाढी र डुबानको समयमा खानेकुरा र पिउने पानीमा पनि विशेष ख्याल गर्न चिकित्सकहरुले आग्रह गरेका छन् । सरुवा रोग विशेषज्ञ डा. बासुदेब पाण्डेले पिउने पानी सफा नभए अर्को महामारीको खतरा रहन सक्ने बताउनुभयो ।उहाँले डुबान प्रभावित क्षेत्रका नागरिकलाई पानी उमालेर वा शुद्ध बनाएर मात्रै पिउन आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०७६ असार २८ गते शनिवार
प्रतिक्रिया