दक्ष जनशक्ति उत्पादन गर्न त्रिभुवन विश्वविद्यालयलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौ, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आवश्यकता परिपूर्तिका निम्ति दक्ष जनशक्ति निर्माणको पक्षलाई ध्यान दिएर शैक्षिक कार्यक्रम ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । विश्वविद्यालयसभाको ६० औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राविधिक वैज्ञानिक, रोजगारमूलक र गुणस्तरीय शिक्षालाई विशेष प्राथमिकता दिन आह्वान गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, शिक्षण संस्थालाई पवित्र मन्दिरका रुपमा विकास गर्नुपर्छ ।

जायज कुराका लागि कसैसँग शिर झुकाउनु पर्दैन । नाजायज कुरा कसैले पनि गर्नु हुँदैन । अनावश्यक कुराका लागि कुनै प्रभावमा नपर्नुहोला । त्रिविका कुलपतिसमेत रहनुभएका उहाँले त्रिवि विश्वका उत्कृष्ट एक हजारभित्र र एशियामा उत्कृष्ट ३ सय भित्र पर्न सफल भएकामा खुशी व्यक्त गर्दै बजारले माग गर्ने प्रकारको जनशक्ति उत्पादनमा त्रिविले आफूलाई केन्द्रित गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले नवनिर्मित त्रिवि उपकुलपतिको कार्यालय उद्घाटन पनि गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७६ असार २५ गते बुधवार
प्रतिक्रिया