अछाम, २५ असार । अछामको मङ्गलसेन नगरपालिका–१ कुन्तिबण्डाली ढुङ्गानीमा मंगलबार राति दुई जनाको हत्या भएको छ । स्थानीय पिरमकुमार साउदले आफ्नै ठूलोबुबा ७२ वर्षीय देउसिंह साउद र ससुरा ५५ वर्षीय वीरभान थापालाई चिर्पट दाउराले प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ।उनले राति १२ बजेपछि एक्कासी आफ्नै घरमा सुतिरहेका ससुरा र ठूलोबुबालाई आक्रमण गरी प्रहार गरेको बताईएको छ । मृतक ससुरा छोरीको घरमा आएका बेला उक्त घटना घटेको हो ।
आक्रमण गर्ने क्रममा उनकै श्रीमतीले छुट्याउन जाँदा श्रीमतीलाई समेत कुटपिट गर्न थालेपछि उनी भागेर ज्यान बचाउन सफल भएको प्रहरीको भनाई छ ।अहिले घटनास्थलमा अछाम जिल्ला प्रहरी कार्यालयको टोली खटिएको छ । हत्या गर्ने पिरमकुमार साउद भने फरार भएको बताईएको छ । उनको खोजी कार्य जारी रहेको र घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।