नयाँ दृश्टी प्रदान गर्न स्थानिय तहहरुसंग सहकार्य

शंकर के सी 

दाङ, जेठ १९ । नेपाल नेत्र ज्योती संघ, राप्ती आँखा अस्पताल रक्षाचौर दाङले मानिसलाइ नयाँ दृश्टी प्रदान गर्न स्थानिय तहहरुसंग सहकार्य चलिरहेको जनाएको छ । आइतबार रक्षाचौर स्थीत आँखा अस्पतालमा मोतियाविन्दु भएका विरामीको शल्यक्रिया पश्चात चश्मा र औषधि वितरण कार्यक्रममा अस्पतालले दाङ, सल्यान लगाएत विभिन्न जिल्लाका स्थानिय तहसंग सहकार्य गरेर सयौँलाइ नयाँ दृश्टी दिइरहेको जनाएको हो ।

शनिबार सल्यानको कपुरकोटमा सञ्चालन भएको शिविरमा फेला परेका ७५ जना मोतीयाविन्दुका रोगीहरुको अस्पतालमा ल्याएर राती १० बजे सम्म शल्यक्रिया गरिएको थियो । ७५ विरामीका ८५ वटा आँखाको अप्रेशन गरिएको राप्ती आँखा अस्पतालका नेत्र चिकित्सक डा. सुरेश रसायलीले जनाए । चश्मा वितरण कार्यक्रममा कपुरकोट गाउँपालिकाकी उपाध्यक्ष तिला बुढा मगरले अव आफ्नो गाउँपालिकाको हरेक वडामा आँखा जाँच शिविर सञ्चालन गर्नका लागी आँखा अस्पतालसंग सहकार्य गर्न तयार रहेको बताइन् । आँखा अस्पतालमा विरामीले चिकित्सक तथा स्वास्थ्यकर्मीबाट मिजासिलो र सम्मानजनक ब्यवहार पाएको जनाएकाले आफु निकै खुसि रहेको बताइन् ।

शालिकराम गौतमले सञ्चालन गरेको कार्यक्रममा नेपाल नेत्र ज्योती संघका केन्द्रीय सदस्य तथा राप्ती आँखा अस्पताल व्यवस्थापन समितीका अध्यक्ष कृष्ण कुमार गिरीले मोतीयाविन्दु हटाउने खालका कार्यक्रम हरेक स्थानिय तहले आफ्नो निती तथा कार्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए । उनले आर्थीक अभावका कारण कुनै पनि व्यक्ति सेवा पाउनबाट वञ्चीत हुन नपरोस् भनेर विभिन्न संघसंस्थासंगको सहकार्यमा पनि निःशुल्क शिविर सञ्चालन गर्दै आएको जनाए । नेत्र ज्योती संघ अन्तर्गत नेपालमा १८ वटा आँखा अस्पताल र ८६ वटा आँखा उपचार केन्द्रबाट सेवा प्रदान भइरहेको पनि उनले जनाए ।

सो अवसरमा नेत्र चिकित्सक डा. सुरेश रसायलीले कपुरकोटको शिविरमा ६ सय १२ जनाको आँखाको जाँच गरिएको तथा ४० वर्ष माथीका १ सय २५ जनालाइ गाउँपालिकाको आर्थिक सहयोगमा निःशुल्क चश्मा वितरण गरिएको जनाए ।

ज्योती फर्किएपछि जेष्ठ नागरिक दंग

५६ वटा वेड सुविधा रहेको राप्ती आँखा अस्पतालमा एकै पटक ७५ जना बढिको शल्यक्रिया गर्नुपर्ने भएपछि शुरुमा विरामी राख्न केहि समस्या हुन्छ की भन्ने लागेको थियो । तर अस्पतालले आवश्यक व्यवस्था गरेर सबैलाइ राखेको र राती १० बजे सम्म शल्यक्रिया सकिएको डा रसायलीले जानकारि दिए । अप्रेशन पश्चा विरामीहरु निकै खुसि देखिन्थे ।

कपुरकोट २ गर्पा निवासि ७८ वर्षिय जयमती खत्री दुबै आँखाको ज्योती फर्किएपछि असाध्यै हर्षित भएकि थिइन् । उनले भनिन्, आँखा देख्न छाडेकी थिएँ, ‘अव त कहिलै देख्न सक्दीनहोला जस्तो लागेको थियो । तर शिवरमा चेक गराउँदा मोतीयाविन्दु भएको रहेछ भन्ने थाहा भयो । अप्रेशन भयो, अव त आँखा देख्न सक्ने भएँ ।’

यस्तै मुलपानी सल्यान निवासि ७० वर्षिय चन्द्र कुमारी सेन भन्छीन्, ‘गाउँपालिकाले गाडीको समेत ब्यवस्था गरेर अस्पतालसम्म ल्याइदियो, डाक्टरले मेरो दुबै आँखा खोलिदिए ।’ उपचारको लागी अस्पताल सम्म पुगने पैसा नहुँदा फेरी आँखा देखिने आस मारिसकेका गर्पा निवासि ७४ वर्षिय मनिलाल विक पनि आँखा देखिने बनाएर शिविरले नयाँ जीवन प्रदान गरेको बताउँछन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ १९ गते आइतवार
प्रतिक्रिया