बारुदको गन्ध आवश्यक छैन : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा जनताको व्यापक सहभागितामा ७० वर्षसम्म गरिएको सङ्घर्षबाट प्राप्त गणतन्त्रले सबैलाई समान अवसर प्रदान गरेकाले अब नेपाली समाजमा बारुदको गन्ध जरुरी नभएको बताएका छन् ।

मन्त्री बाँस्कोटाले १२ अाै गणतन्त्र दिवसको अघिल्लो दिन आज रेडियो नेपाल र नेपाल टेलिभिजनद्वारा आयोजित विशेष जागरण गीत सम्मेलनका सहभागी र अतिथिलाई सिंहदरबारस्थित रेडियो नेपालको परिसरमामा सम्बोधन गर्दै सबैभन्दा ठूलो कुरा गणतन्त्रले सबैलाई नेपालमा पहिले कहिल्यै नभएको स्वतन्त्रता, स्वाधीनता र समान अवसर दिएको स्पष्ट पारे ।

‘अब हाम्रा बस्तीमा बारुदको गन्ध जरुरी छैन, गणतन्त्रमा जनता नै मालिक हुने भएकाले जनताका अगाडि बन्दूक केही होइन ।’ मन्त्री बास्कोटाले भने । गणतन्त्रपछि बनेको पहिलो बहुमतको सरकारले गणतन्त्रलाई संस्थागत गर्ने र देशलाई प्रगतिको दिशामा उन्मुख गराउने नीति तथा कार्यक्रम ल्याएको स्मरण गराउँदै उनले भने ‘रातारात मुलुक बन्दैन । आर्थिक परिवर्तन जति सजिलो छ, सामाजिक र सांस्कृतिक परिवर्तन गर्न उत्तिकै कठिन रहेकोले अब हाम्रो ध्यान त्यता जानुपर्छ ।’ उनले अबको लडाइँ गरीबी समाप्त गर्ने, कृषि र शिक्षामा फड्को मार्ने र प्राप्त अधिकारलाई सुदृढ तुल्याउने हुनुपर्ने बताए ।

मन्त्री बाँस्कोटाले अहिले जनताबाट निर्वा्चित सरकारले गणतन्त्र र परिवर्तनलाई संस्थागत गर्दै समृद्धिको आधार तयार गरिरहेको जनाउँदै यो सरकार पनि असफल भए को आउने भन्ने स्पष्ट हुनुपर्ने जिकिर गरे । गत एक वर्षमा सरकारले संविधानअनुकूल नयाँ कानून र संरचना निर्माणमा समय व्यतीत गरेकाले अबको योजना र प्रयास समृद्धितर्फको यात्रा हुने उनले उल्लेख गरे ।

प्रकाशित मिति : २०७६ जेष्ठ १४ गते मङ्गलवार
प्रतिक्रिया