विमानस्थल सञ्चालनको लागि दबाबमुलक आन्दोलन

 सुरेश पन्त

महेन्द्रनगर । असुरक्षाको कारण देखाउँदै सशस्त्र द्वन्द्वकालमा बन्द भएको कञ्चनपुर भीमदत्तनगरपालिका–१६ स्थित मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् ।

विमानस्थल सञ्चालनका लागि दबाब दिन सामाजिक सञ्जालबाट सुरु भएको दवावमुलक आन्दोलनलाई पुर्णता दिन यहाँका युवाहरुको मझगाउँ विमानस्थल संघर्ष समितिसमेत गठन गरिएको छ । पूर्ववन अधिकृत रमेश चन्दको संयोजकत्वमा मझगाँउ विमानस्थल संघर्ष समिति गठन गरेर युवाहरुले दवावमुलक आन्दोलन सुरु गरेका हुन् ।

समितिको सह–संयोजक तिलक दत्त भट्ट, सञ्चार संयोजक ज्ञानेन्द्र महता, व्यवस्थापन संयोजक करन पाल, सचिव राजेन्द्रबहादुर चन्द, सह–सचिव ईन्द्र भट्ट, सदस्यहरुमा अम्बादत्त तिवारी, लोकराज भट्ट, सिद्धराज भट्ट, नरेन्द्र भाट, चन्द्रदेव बडू, देवराज जोशी, सावित्री भट्ट, राजेन्द्र गिरी, विरेन्द्र विसी रहेका छन् ।

विमानस्थल संचालन गर्न नेपाल सरकार, राजनीतिक दल, बुद्धिजिबी, स्थानिय, पत्रकारहरु सँग भेटघाट तथा परामर्श गरिरहको विमानस्थल संघर्ष समितिका व्यवस्थापक संयोजक करन सिंह पालले बताए । उनका अनुसार पत्रकार, जनप्रतिनिधी, सरकारी निकायका प्रतिनिधी एव राजनीतिक दलसँग भेटघाट गरेर संचालनका लागि दवाव सिर्जना गरिने बताए ।

संघर्ष समितिले मझगाउँ विमानस्थलमै सोमबार कञ्चनपुरका सञ्चारकर्मीसंग गरेको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन । यस्तै कञ्चनपुर उद्योग बाण्ज्यि संघ, र नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखासहित यहाँका सञ्चारकर्मी पनि विमानस्थल पुनः सञ्चालनमा ऐक्यवद्धता जनाएका छन । ‘विमानस्थल सञ्चालनका लागि आवश्यक पुर्वाधार, उपकरणको विस्तार गर्दै महेन्द्रनगर–काठमाडौँ–महेन्द्रनगर नियमित उडानका लागि दवाव श्रृजना गर्ने तयारी भईरहेको दवावमुलक आन्दोलनका संयोजक चन्दले बताए ।’

हाल सुदूरपश्चिममा नियमित रुपमा सञ्चालन रहेको एउटामात्र धनगढी विमानस्थल रहेको छ । कहिलेकाहीँ मात्र बाजुराको कोल्टी बिमानस्थलमा नेपालगञ्ज देखी उडान हुने गर्दछ । धनगढी बिमानस्थलको स्तरबृद्धीका लागि एक महिना सम्म बन्द हुँदा हवाई यात्राका लागि सुदुरपश्चिमका यात्रुहरुले नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेको छ ।

पहाडी जिल्लामा अछामको साफेवगर विमानस्थलमा परिक्षण उडान सफल भएपनि नियमित उडानका लागि सरकारी र नीजि विमान कम्पनीहरुले चाँसो दिएका छैनन् । कञ्चनपुरको मझगाउँ विमानस्थल सुचारु भए सुदूरपश्चिमबाट हवाई यात्रा गर्न सहज हुने व्यवस्थापक संयोजक पालले बताए । यही पिडालाई मध्यनजर गरीे धनगढीस्थित गेटा विमानस्थलको विकल्पमा भीमदत्तनगरको मझगाउँ विमानस्थल सुचारु गर्नका लागि दवावमुलक अभियान सुरु गरेको उनले बताए ।

२०५६ सालदेखि आन्तरिक उडान भर्दै आएको मझगाउँ विमानस्थल असुरक्षाको कारण देखाउँदै सशस्त्र द्वन्द्वकालमा बन्द भएको हो । मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि यस अघि पनि पटक–पटक संघर्षका कार्यक्रम भए तर ति संघर्षका कार्यक्रम केही दिनमै मथ्थर भए । ५२ बिघा १० कठठा १२ धुर क्षेत्रफलमा रहेको विमानस्थलमा दुई किलोमिटर धावनमार्ग हुँदा समेत कञ्चनपुरवासीले झण्डै दुई दशकदेखि धनगढी र नेपालगञ्ज विमानस्थलबाट हवाईयात्रा गरिरहनु पर्ने बाध्यता रहेको छ ।

विमानस्थल सञ्चालनका चासो नहुँदा लामो समयदेखि गौचरणमा परिणत भएको छ । महेन्द्रनगरदेखि झण्डै साढे ५३ किलोमिटर दुरीमा रहेको धनगढी विमान स्थल चढ्नका लागि दैनिक ७० देखि ८० को हाराहारीमा कञ्चनपुरबाट यात्रु जाने गरेका छन् । धनगढी विमानस्थल मर्मत हुन थालेपछि कञ्चनपुरका यात्रुलाई जहाज चढ्न झन् समस्या भएको छ ।

‘मझगाउँ विमान स्थल सञ्चालन गर्न सबैले आ–आफ्नो क्षेत्रबाट साथ सर्मथन गर्नुपर्छ’, मोहीत टुर एण्ड ट्रार्भल्स, होटेल आनन्दका सञ्चालक र पर्यटन व्यवसायी प्रमानन्द भण्डारीले बताए । ‘उनले भने, विमानस्थल सञ्चालनका लागि चुनावी एजेण्डा बनाएका नेताले पनि कुनै वास्ता गरेका छैनन । विमानस्थल पुनः संचालन भए पर्यटन प्रवद्र्धनकामा टेवा पुग्ने आन्तरीक र बाह्य लागि पर्यटक भित्र्याउन सजिलो हुने उनको भनाई छ । ‘यो सामुहिक प्रयासबाट हुने विषय हो । सबैले मिलेर गर्नुपर्ने अन्ले थपे ।’

देशकै पश्चिमी सीमानाका नजिक रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आए नजिकै रहेको भारतको राजधानी दिल्लीबाट समेत पर्यटक भित्रयाउन सजिलो हुने धेरैको तर्क छ । विमानस्थल सुचारु भए आर्थिक गतिविधिहरु स्वभाविक रुपमा बढ्ने पनि जिल्लावासीको अपेक्षा छ । एशियाको दोस्रो लामो दोधारा झोलुङ्गे पुल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, बेतकोट ताल, बैजनाथ धाम, लिङा क्षेत्र लगायतका पयर्टकीय गन्तव्य भएपनि अपेक्षाकृत रुपमा पर्यटक भित्रिन सकेका छैनन् । यस्को मुख्य कारण नै विमानस्थल नहुँनु रहेको धेरैको बुझाई छ ।

हरेक राजनैतिक दलहरुका चुनावी प्रतिबद्धता र घोषण पत्रमा मझगाउँ विमानस्थल पुनः सञ्चालन गराउन पहिलो प्राथमिकतामा राखे पनि अहिलेसम्म यो सञ्चालनमा आउन नसक्नुमा राजनितिक कमजोरी र पहुँचको कमि रहेको मान्न सकिन्छ । विमानस्थल पुनः सञ्चालनमा नेपाल सरकार र अन्य कुनै पनि निकायबाट समेत पहल नभएको हो । तीन तहको सरकारसंग पनि विमानस्थल पुनः सञ्चालनका लागि कुनै पनि योजना नभएपछि जिल्लावासी निराश भएका छन् । सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थल सुचारुका लागि काम भईरहेको अवस्थामा मझगाउँ विमानस्थल सञ्चालनका लागि भने नागरिक उड्यन प्राधिकरणसंग समेत कुनै योजना छैन् । अछाम विमानस्थल मर्मतपछि उडानका लागि योग्य भईसकेको छ भने बैतडीको पाटन र डोटीको दिपायल विमानस्थलमा काम जारी छ ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्बाचित सबिधानसभा पहिलो निर्वाचन देखी मात्र हेर्नेहो भने नेपाली काग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री सेर बहादुर देउपा, साबिकको एनेकपा माओबादीका हरिश ठकुल्ला, पुर्व भौतिक तथा पुर्वाधार मन्त्री रमेश लेखक, गरी सो क्षेत्रबाट विजयी प्रतिनिधि सभा सदस्य डाक्टर दीपकप्रकाश भट्टले मझगाउँ विमानस्थल सुचारु गर्ने प्रमुख चुनावी एजेण्डा बनाएका थिए । तर विजयी भएका नेताहरुले समेत विमानस्थल पुनः सञ्चालनका लागि दवाव समेत नदिएको स्थानियको गुनासो रहेको छ ।

पुर्वमन्त्री रमेश लेखकले भने जग्गा थप अधिग्रहणका लागि विगतमा पहल गरेको बताए । आफु मन्त्री हुने बेला पहल गरेको बिमानस्थल सञ्चालन गर्न पुर्णरुपमा लगीरहेको उनले भने । यस्तै उता प्रतिनिधि सभा सदस्य डाक्टर दीपकप्रकाश भट्टले भने आगामी आर्थिक बर्षका लागि बजेट विनियोजन गर्न आफुले सम्वन्धित निकाय समक्ष माग राखेको बताए । यस्तै प्रदेश सभा सदस्य मानवहादुर सुनारले भने प्रदेश सरकारले विमानस्थलमा तारवारका लागि ५ लाख विनियोजन गरेको बताए । मझगाउँ विमानस्थल सञ्चालनका लागि प्रदेश र संघ सरकारसँग छलफल भइरहेको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बताए । उनले पुन संचालनका लागि नगरपालिकाले पहल गरिरहेको बताए ।

प्रकाशित मिति : २०७६ जेष्ठ १४ गते मङ्गलवार
प्रतिक्रिया