
तुलसीपुर १२ फागुन
उच्च अदालत तुलसीपुरले, तुलसीपुर उपमहागनरपालिका – ३ का नाममा कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले वडाअध्यक्ष विजय भन्ने वीरबहादुर विक, र बालिकाका बाबु तुलसीपुर– ३ निबासी लक्ष्मणबहादुर डाँगी समेतलाई जन्मदर्ता नबनाइदिनु र नदिनुपर्ने कारण सहित म्याद तामेल भएको १५ दिन भित्र उपस्थित हुन आदेश दिएको हो ।
१२ बर्षीया बालिका देवी डाँगीको जन्मदर्ता बनाउन सिफारिस नदिएको भन्दै वडाअध्यक्ष विक, र बालिकाका बाबु डाँगी समेतलाई विपक्षी बनाई संरक्षकको तर्फबाट गायत्री डाँगीले दायर गरेको निवेदनमा अधिवक्ता रामशरण चौधरीले बहस गर्नुभएको थियो ।
बाबुले सहज रुपमा बालिकाको जन्म दर्ता नबनाईदिएपछि सर्वोच्चले फैसला गरेको नाता कायमको प्रतिलिपि लिएर पिडित पक्ष वडा कार्यालयमा पुगेका थिए । तत्तकालिन पुनरावेदन अदालत तुलसीपुर र सर्वोच्च अदालते , लक्ष्मण र लेमा लोग्ने स्वास्नी भएकोले निजबाट जायजन्म भएको देवी डाँगी बिच बाबु छोरीको नाता कायम हुने ठहर सहित अंश भराउन फैसला गरेको थियो ।