टरीगाउँबाट अब दैनिक जहाज उड्ने

तुलसीपुर,९ पुस । सातामा ३ पटक विमान सेवा सञ्चालन हुँदै आएको तुलसीपुरको टरीगाउँ विमान विमानस्थलमा अव दैनिक हवाई सेवा सञ्चालन हुने भएको छ । नेपाल वायु सेवा निगमका प्रवक्ता विजय लामाका अनुसार पुस १२ गतेबाट लागु हुने गरि दैनिक विमान सेवा सञ्चालन हुने भएको हो । तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा नेपाल वायुसेवा निगमको जहाजले विमान सेवा सञ्चालन गर्दै आएको थियो ।
“दैनिक हवाई सेवा सञ्चालन हुनुले हामीहरु निकै उत्साहित भएका छौ” तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतले वताए । उनले दैनिक विमान सेवा सञ्चालन गर्न सफल भएकोमा तुलसीपुर उपमहानगरपालिकालाई धन्यवाद समेत दिए । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष टोपवहादुर घर्तीले दैनिक विमान सेवा सञ्चालन हुनु सबैका लागि खुसीको कुरा भएको वताए । “यसले तुलसीपुरलाई आर्थिक केन्द्रका रुपमा रुपान्तरण गर्नेछ” घर्तीले भने ।
विमान सेवा नियमित हुने भएपछि यस क्षेत्रका सर्वसाधारणहरुमा निकै उत्साह छाएको छ । “सातामा ३ पटक हुँदा चाहे अनुसार विमान सेवा लिन सकिएको थिएन अव भने आवश्यक परेको वेलामा चढ्न पाइने भयो” स्थानीय माधव घिमिरेले वताए ।
नगरप्रमुख घनश्याम पाण्डेले जनताका माझमा गरेको वाचा पुरा भएको वताए । उनले विमान सेवा दैनिक सञ्चालनका लागि अग्रसरता देखाउने नेपाल वायुसेवा निगमप्रति आभार समेत व्यक्त गरे । नगरप्रमुख पाण्डेले इन्धन डिपो स्थापनाका लागि अन्तिम पहल भइरहेको भन्दै टर्मिनल भवन निर्माणका लागि टेण्डर समेत भइसकेको वताए । २०१२ सालमा स्थापना भएको टरीगाउँ विमान स्थलमा इन्धन र यात्रुको कारण देखाउदै नीजि विमान कम्पनीले केहि समय संचालन गर्ने र रोक्ने गर्दै आएका थिए । तुलसीपुर उपहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेको सक्रीयतामा नेपाल बायुसेवा निगमले गत असोज देखि हवाई सेवा सुरु गरेको थियो । सुरुमा हप्तामा एक पटक सेवा संचालन गरेको बायुसेवा निगमले पछिल्लो समय यात्रुहरुको चापलाई मध्य नजर गर्दै दुई पटक, तीन पटक बढाउदै हप्तामा सातै दिन हवाई सेवा सुरु गर्ने तयारीमा पुगेको हो ।

प्रकाशित मिति : २०७५ पुष ९ गते सोमवार
प्रतिक्रिया