मृतक २३ जनाकै शव आफन्तीले बुझे, दुर्घटना बारे छानविन गर्न ५ सदस्यिय समिति गठन

तुलसीपुर, ८ पौष । राप्तीराज मार्ग अन्र्तगत दाङ तुलसीपुर उपहानगरपालिका वडा नम्वर ३ राम्रीमा भएको बस दुर्घटनामा परि ज्यान गुमाएका २३ जनाकै शव आफन्तीले बुझिलिएका छन् । शनिवार बाँकी रहेका बझाङ,बाजुरा र जुम्ला घर भएका तिन वटा शव आईतवार आफन्ती तुलसीपुर आएर शव बुझिलिएको ईलाका प्हरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
अन्य २० जनाको शव शनिवार नै आफन्तीले बुझेका थिए । दुर्घटनामा परि दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्बका १÷१ जना गरी २३ जनाको ज्यान गएको छ । दुर्घटनामा परि १९ जना पुरुष र ४ जना महिलाको ज्यान गएकोे हो ।
दुर्घटनामा परि २२ जनाको घटना स्थलमै ज्यान गएको थियो भने एक जनाको उपचारको क्रममा शनिवार विहान नेपालगन्जमा ज्यान गएको थियो । दुर्घटनामा परि घाईते भएका १३ जनाको उपचार भईरहेको जनाईएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १७ गैरागाउँ स्थित शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका वन बातबरणका विद्यार्थी सल्यानको मूलपानीमा रहेको बनस्पती उद्यानको अध्ययन अवलोकन गरेर फर्कने क्रममा शुक्रवार वेलुकी ५ वजेतिर उक्त बस दुर्घटना भएको हो ।
नमस्ते राप्ती यातायात प्रालिद्धारा सन्चालित बा ४ ख ९७६६ नम्बरको बस शिक्षालयले भ्रमणका लागी रिर्जभ गरेर लगेको थियो । यसैविच बस दुर्घटनाको बारेमा छानबिन गर्न आईतवार समिति गठन गरिएको छ । प्रदेश नं. ५ का बरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा ५ सदस्यिय छानबिन समिति गठन गरिएको हो ।
जसको सदस्यहरुमा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेश चन्द, प्रहरी नायब उपरीक्षक पुष्पराज मल्ल, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मदनबहादुर कुँवर रहेका छन् ।
समितिले दुर्घटनाको अध्ययन गरी एक हप्तामा प्रतिवेदन बुझाउने गरी समिति गठन गरीएको हो । दुर्घटनाका कारण पत्ता लगाई त्यसको आधारमा तयार पारिएको प्रतिवेदन प्रदेश प्रहरी कार्यालयलाई बुझाउने समितिका सदस्य पुष्प मल्लले बताए । उक्त दुर्घटना भएको स्थानमा यस अघि पनि दुईवटा सवारी साधन दुर्घटना भएको हुदा त्यसको अध्ययन गरी प्रतिवेदन तयार गरिने उनको भनाई छ ।

प्रकाशित मिति : २०७५ पुष ८ गते आइतवार
प्रतिक्रिया