तुलसीपुर, कात्तिक २६
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ कुमलगढीको थारु गाउँका किसानहरुले तरकारी खेतीबाट वार्षिक १ करोड ५० लाख बराबरको आम्दानी गर्ने गरेका छन् । गाउँका ४० घर परिवारले करिव २२ विगाहा जग्गामा तरकारी खेती गरेर सो आम्दानी गर्ने गरेको किसान जंगवहादुर चौधरीले वताए । उनले व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेपछि गाउँको परिचय नै वदलिएको वताए । “पहिला काम कहाँ खोज्ने भन्ने थियो अहिले कसरी भ्याउने भन्ने भएको छ ” चौधरीले भने ।
सरस्वती कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहेका चौधरीले तुलसीपुर उपमहानगरपालिकाले कृषि प्राविधिक, विउँ विजन र उपकरणमा सहयोग गरेको वताएका थिए । उनले थप उत्पादन वृद्धिका लागि सिँचाई सुविधामा सहयोग गर्न पनि आग्रह गरेका थिए । “यहाँ सिँचाईको निकै समस्या रहेको छ ,यो समाधान भयो भने अझै उत्पादन वृद्धि गर्न सकिन्छ ” उनले भने । सिँचाई सुविधा नभएकाले कृषकहरुले इनारको प्रयोग गर्ने गरेको कृषक पार्वती चौधरीले वताईन् । “हामी सबैले घरमा २ वटा इनार वनाएका छौ एउटा सुकेपनि अर्कोबाट खेतमा पानी लैजान्छौ” पार्वतीले भनिन् । उनले वर्षमा चार बाली तरकारी खेती गरेको वताउँदै सिँचाई सुविधा नहुँदा आशा गरे अनुसार उत्पादन गर्न नसकेको वताईन । पार्वतीको ६ कठ्ठा वारीमा अहिले खुर्सानी, टमाटर र काउँली लटरम्म फलेका छन् ।
केही वर्ष अगाडिसम्म वेरोजगारीका कारणले गलत काममा लाग्नाले गाउँमा झैझगडा हुने गरेकोमा अहिले सबैलाई कामको चटारो परेका कारण मिलेर खेती गर्ने गरेको कृषि सहकारी संस्थाका सचिव जयराम चौधरीले वताए । “ सबैले आआफ्नो जग्गामा खेती गरेपनि मिलरे गर्ने गरेका छौ” जयराम चौधरीले भने । उनका अनुसार ९५ घर धुरी रहेको गाउँमा ४५ जनाले निर्वाहमुखी तरकारी खेती गर्ने गरेको वताए ।
गाउँमा व्यावसायिक तरकारी खेतीको अगुवाई गर्ने जंगवहादुरले वजार व्यवस्थापनको समस्या रहेको वताए । “खेतमै किन्न आउनेहरुले मनलाग्दो दर भन्छन् वजारमा वेच्न लैजादा यातायतको अभाव छ ” जयरामले सबै किसान मिलेर तरकारी विक्री गर्नका लागि सानो गाडी भाडामा ल्याएको भएपनि त्यो प्रयाप्त नभएको वताए । “दुख गरेर उब्जाउँ गरेको कुरा उचित मुल्यमा वेच्न पाइएन भने कसरी यसलाई निरन्तरता दिन सकिन्छ ?” जयरामले भने ।
किसानहरुका समस्या समाधान गरेर उनीहरुलाई व्यावसायिक तरकारी खेतितर्फ थप अगाडि वढाइने तुलसीपुर उपमहानगरपालिका कृषि शाखा प्रमुख तिलक केसीले वताए । उनले किसानलाई खेतमै कृषि प्राविधिक उपलब्ध गराउनका लागि उपमहानगरपालिकाले पहल गरिरहेको वताए । उपमहानगरपालिकाका आर्थिक समिति संयोजक माधव वलीले किसानहरुलाई कृषि उपज विक्री वितरणमा सहज होस् भन्नका लागि उपमहानगरपालिकाले कृषि उपज वजार केन्द्र निर्माण गर्न लागेको वताए । उनले किसानहरुको सम्मानका लागि कृषि परिचय पत्र वितरण गर्न लागेको समेत जानकारी दिए । वडा नम्वर २ का वडाध्यक्ष राजु आचार्यले सिचाईको समस्या समाधानका लागि पहल गर्ने वताए । उनले डिपवोरिङ निर्माणका लागि वडाले पहल गर्ने समेत वताए ।