दाङ,२ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले घोराही–तुलसीपुर चारलेन सडक निर्माण भईरहेको कामको बारे जानकारी लिनु भएको छ । लुम्बिनी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री समेत हुनु भएका महासचिब पोख्रेलले जिल्लाको गौरबको आयोजनाको रुपमा रहेको चारलेन सडक निर्माणस्थलमै पुगेर निर्माणको प्रगतिका विषयमा बुझनु भएको छ ।
एमालेका महासचिवले चारलेन सडक निर्माणको विषयमा चासो लिदै गृह जिल्लामा आएको समयमा अनुगमन गर्नुएको छ । सडक निर्माण कार्यस्थलमा पुगेर उहाले काम गर्ने क्रममा केही समस्या वा असहजता भएमा आबश्यक सहजीकरणका लागी आफु तयार भएको बताउनु भएको छ । महासचिव पोख्रेल संगै डिभिजन सडक कार्यालय दाङका प्रमुख दिपेन्द्रबहादुर विष्टको उपस्थिति थियो । सोहि अवसरमा डिजिन प्रमुख विष्टले अहिलेसम्मको कामको प्रगतिबारे महासचिवलाई जानकारी गराउनु भएको थियो ।
डिजिन प्रमुख विष्टले चारलेन सडक २ अर्ब ८८ करोड ८२ लाख ३९ हजार ७ सय ८० रुपैयाँ २३ पैसा (भ्याट बाहेक) अनुमानित लागतमा निर्माण भइरहेको यो सडक तीन वर्षभित्र सम्पन्न गर्नेगरी श्री दिवा–बन्दन भगवती जे।भी। ले निर्माणको जिम्मा लिएको जानकारी दिनुभयो । उहाका अनुसार सडक ३० मिटर चौडा हुनेछ ।२०८२ असार २४ गते ठेक्का सम्झौता भएको उक्त सडकलाई निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको भन्दै कार्यालय प्रमुख विष्टले हाल माटोपटान, सडक संरचनाहरू निर्माण, बिजुलीका पोल सार्ने काम तथा रुख कटान छपानजस्ता कार्यहरू सञ्चालनमा रहेका छन् ।
यसअघि भारतीय एक्जिम बैंकको लगानीमा भारतीय ठेकेदारले नै काम गरेका थिए । त्यसका लागि छुट्टै परियोजनाले कामको निगरानी गर्ने गथ्र्यो तर पाँच वर्षसम्म पनि १० प्रतिशतभन्दा कम काम भएपछि ठेक्का रद्द गरिएको थियो ।
अहिले नेपाल सरकारले नै बजेट विनियोजन गरी नेपाली ठेकेदारलाई काम दिएको छ ।लामो समयसम्म सडक निर्माण अघि नबढेपछि महासचिव पोखरेलकै सक्रियतामा सडकको जिम्मा नेपाल सरकारले लिएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री रहेका बेला पोखरेलले सडक निर्माणको स्वामित्व सरकारले लिने निर्णय गराउन सफल हुनु भएको थियो । पार्टीका महासचिवका रूपमा पोखरेलले करिब चार अर्ब रुपैयाँ बजेट सुनिश्चित गराएर अलपत्र सडक निर्माणलाई अघि बढाउन महत्वपुर्ण भूमिका खेल्नु भएको थियो ।
चारलेन सडकको विषयमा पोखरेलकै पहलमा अर्थ मन्त्रालयले २०८१ मंसिर ११ गते राष्ट्रिय योजना आयोगलाई पत्र लेख्दै बजेट सुनिश्चित भएको जानकारी गराएको थियो । मदन भण्डारी राजमार्ग अन्तर्गत करिब तीन अर्ब ९९ करोड ४९ लाख रुपैयाँको बहुवर्षिय ठेक्काका लागि स्रोत सहमतिका लागि अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगसमक्ष पत्र पठाएको थियो ।घोराहीको डिके पम्पदेखि तुलसीपुरको हात्तीखौवासम्म करिब २१ दशमलव ५८ किलोमिटर सडक चारलेन बन्नेछ ।



