
दाङ, १५ बैशाख । दाङको भालुबाङ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएका छ । उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो । अस्पतालमा जटिल प्रसूति सेवा अन्तर्गत शल्यक्रिया गरिँदै आएको छ । अस्पतालमा हालसम्म ५१ वटा जटिल प्रसूतिको शल्यक्रिया गरिएको छ भने, सर्जरी सेवा विस्तार गरिएको र अब रक्त सञ्चार केन्द्र आवश्यक रहेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर आकाश बेल्वासेले जानकारी दिनुभयो ।
यसैबीच सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भालुबाङ अस्पतालको उद्घाटन गर्नुभएको छ ।मुख्यमन्त्री आचार्यले भालुबाङ अस्पताललाई विशिष्टीकृत अस्पतालको रूपमा प्रदेश सरकारले अघि बढाएको र जनशक्तिको व्यवस्थापनसहित गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गरिने बताउनुभयो । दाङ, अर्घाखाँची, प्युठान, रोल्पा लगायतका जिल्लाका नागरिकले उपचार पाउने भरपर्दो अस्पतालको रूपमा अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सो अवससरमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न जरुरी रहेको बताउनुभयो । प्रदेश सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार निवारणमा ध्यान दिँदै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । २०७८ सालमा प्रस्तावित अस्पतालको रूपमा स्वीकृत भइसकेको अस्पतालमा अहिले विशेषज्ञ सेवा विस्तार गरिएको छ ।