दाङमा बढ्दै क्षयरोगीका बिरामी

तुलसीपुर, ११ चैत्र । दाङमा क्षेयरोगीका बिरामीको संख्या बढ्दै गएको एक तथ्याङ सार्वजनिक भएको छ । स्वास्थ्य कार्यालय दाङले सार्वजनिक गरेको तथ्याङ अनुसार क्षेयरोगीको संख्या घट्नुको सट्टा बढ्दै गएको देखिन्छ । जसअनुसार आर्थिक वर्ष ०७६/७७ मा क्षयरोगीका बिरामीको संख्या ९ सय २५, आव ०७७/७८ मा ९ सय ४, आव ०७८/७९ मा १४ सय ५३ जना नयाँ क्षयरोगका विरामी फेला परेका थिए ।

त्यसैगरी आर्थिक वर्ष २०७९/०८० मा १२ सय ९३, आव २०८०/०८१ मा १४ सय १५ बिरामी फेला परेका छन् । यस चालु आर्थिक वर्षको माघ महिनासम्म ७ सय ७५ क्षयरोगका विरामी फेला परेका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार टिवीका कारण हुने मृत्युदर पनि कम भएको देखिदैन । चालु आर्थिक वर्षको हालसम्म मात्रै २७ जनाको मृत्यु टिवीका कारण भएको कार्यालयका क्षयरोग फोकलपर्सन गजेन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा ३७, आर्थिक वर्ष २०७९/०८० मा ३६ र आर्थिक वर्ष २०७८/०७९ मा ४२ जनाको टिवीका कारण दाङमा मृत्यु भएको थियो ।

क्षयरोगीका बिरामी बढ्नुको कारण यस्तो छ
औषधि सेवनमा भएको लापरवाहीका कारण दाङमा औषधि प्रतिरोधी क्षयरोग बढ्दै गएको देखिएको छ । सामान्य क्षयरोगका बिरामी घटिरहेको बेला कडा खालको क्षयरोगी बढ्न थाल्नुले जनस्वास्थ्य समस्यामै चुनौती थपेको छ । दाङमा एकातिर क्षयरोगका नयाँ संक्रमित भेटिने क्रम रोकिएको छैन भने अर्कोतर्फ मृत्युदर पनि कम हुन सकेको छैन । दाङमा चालु आर्थिक वर्षको हालसम्म १३ जना औषधि प्रतिरोधी क्षयरोग भएका उपचाररत छन् ।

सामान्य क्षयरोगको औषधि छ महिना सेवन गरे पुग्नेमा औषधि प्रतिरोधी क्षयरोग भएकाले १८ महिना औषधि सेवन गर्नुपर्ने हुन्छ । स्वास्थ्य कार्यालयका अनुसार सामान्य क्षयरोगीको भन्दा कडा खालको औषधि सेवन गर्नुपर्ने हुन्छ । उपचारमा लापरवाही वा अधुरो उपचारका कारण औषधि प्रतिरोधी क्षयरोगीको संख्यामा वृद्धि भएको स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोरकुमार आचार्यले बताउनुभयो ।

क्षयरोग निदान र उपचारका लागि जिल्लामा सबै पालिकामा संयन्त्र निर्माण गरिएको छ । दाङ जिल्लामा ५० डट्स केन्द्र, २० माइक्रोस्कोपी केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लमही अस्पतालमा जीन एक्सपर्ट केन्द्र रहेका छन् ।

कुन पालिकामा कति क्षयरोगी ?
नयाँ संक्रमणको हिसावले क्षयरोगका विरामी रहेको धेरै जिल्ला दाङ हो । चालु आर्थिक वर्षको हालसम्मको तथ्यांक हेर्दा जिल्लामा सात सय ७५ जना नयाँ क्षयरोगका बिरामी फेला परिसकेका छन् । जसमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा दुई सय ६९, तुलसीपुर उपमहानगरपालिकामा दुई सय ३८, बंगलाचुली गाउँपालिकामा २१, शान्तिनगर गाउँपालिकामा २६, बबई गाउँपालिकामा ४१, दंगीशरणमा ४१, लमही नगरपालिकामा ५३, राप्ती गाउँपालिकामा ३८, गढवामा २७ र राजपुरमा २१ जनामा क्षयरोग किटान भएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते सोमवार
प्रतिक्रिया