
तुलसीपुर, ३० माघ । दाङको तुलसीपुरमा ट्राफिक नियम उल्लघंन गर्ने (सवारी चालक अनुमतीपत्र लाइसेन्स) विना चल्ने अटोलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ । हिजो एकैदिन मात्रै तुलसीपुरबाट २० वटा अटोलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख (प्रहरी नायब निरीक्षक) ज्ञान बहादुर कवंरले जानकारी दिनुभयो । उहाँका अनुसार ट्राफिक प्रहरी कार्यालय तुलसीपुर मातहतमा रहेका पश्चिमतिरका अन्य ट्राफिक पोष्टहरुले पनि सवारी चालक अनुमतीपत्र लाइसेन्स (कागजपत्र) नभएका अटो नियन्त्रणमा लिएका छन् । लाइसेन्स नभएकाहरुले पनि व्यापक रुपमा अटो चलाउने भएकाले दुर्घटनाको जोखिम बढ्न थालेपछी त्यस्ता अटोलाई नै नियन्त्रणमा लिने अभियान सुरु गरिएको ट्राफिक प्रमुख कवंरले बताउनुभयो ।
दाङका सबै ठाउँमा लाइसेन्स बिना चल्ने अटो नियन्त्रणमा लिने अभियान अन्र्तगत हिजो तुलसीपुर क्षेत्रबाट सुरु गरिएको भन्दै अब घोराही, लमही, भालुवाङ क्षेत्रबाट पनि लाइसेन्स विना चलिरहेका अटो नियन्त्रणमा लिने ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । सवारी चालक अनुमतीपत्र प्राप्त नगरेका व्यक्तीलाई सवारी चलाउन नमिल्ने भएपनि कानुनको उल्लघंन गरेर सवारी चलाउने क्रम बढ्न थालेपछी यस्तो अभियान सुरु गरिएको दाङका ट्राफिक प्रमुख (इन्स्पेक्टर) राजेश शाहीले जानकारी दिनुभयो । एकपटकलाई अटो चालकहरुलाई लाइसेन्स नलिएर अब अटो नचलाउने सर्तमा सम्झाईबुझाई गरेर छाडिएको उहाँले बताउनुभयो । लाइसेन्स भएका व्यक्तीको जिम्मा लगाएर अटो छोडिएपनि अब फेरी सोही कार्य दोहोरिएमा कानुन बमोजिम कारवाही गरिने ट्राफिक प्रमुख शाहीले बताउनुभएको छ ।।