
तुलसीपुर,१० माघ । जाडोयाममा जेष्ठ नागरिकको स्वास्थ्यमा सहयोग पुग्ने ध्येयले कतै न्यानो कपडा त कतै मह वितरण सुरु भएको छ । स्थानीय सरकारले जेष्ठ नागरिकप्रतिको दायित्वस्वरुप विभिन्न कार्य गर्दै आएका छन् । बिहिवार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ वडा कार्यालयमा न्यानो कपडा लिन आउनुभएका ८१ वर्षिय नन्दराम रोका खुसी मुद्रामा देखिनुहुन्थ्यो ।रोकाले भन्नुभयो– वडाले हामीलाई सम्झियो,यो जाडोमा लगाउने ऊनकै टोपी,ऊनकै स्वीटर दियो । रोका मात्रै होइन वडा कार्यालयले वडाभित्र बसोबार गर्ने ८० वर्ष उमेर पुगेका ६० जना जेष्ठ नागरिकलाई ऊनको टोपी,ऊनकै स्वीटर र बर्को उपलब्ध गराएको कार्यवाहक वडाध्यक्ष रामबहादुर पौडेलले बताउनुभयो । पौडलका अनुसार वडा कार्यालयले प्रत्येक वर्ष जाडोयाममा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्दै आएको छ ।
न्यानो कपडा वितरण गर्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जेष्ठ नागरिकले समाजमा पु¥याएको सामाजिक योगदानस्वरुप सरकारले दायित्व निभाएको बताउनुहुन्छ । अध्यक्ष विश्वकर्माले जेष्ठ नागरिक जीवनका भोगाई सुन्ने सुनाउने अनुभव केन्द्र,दिवा केन्द्र र मनोरञ्जस्थल टोल टोलमा बनाउन स्थानीय सरकारलाई आग्रह गर्नुभयो । उहाँले जेष्ठ नागरिकको सम्मान गर्न सके मात्रै देशको विकास हुन सक्ने बताउनुभयो । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले १९ वटै वडामा जेष्ठ नागरिकलाई मह वितरण सुरु गर्न थालेको छ । सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले गत वर्ष १९ वटै वडामा जाडोयाममा न्यानो कपडा वितरण गरिएको र यस वर्ष नयाँ कार्यक्रमस्वरुप मह वितरण गर्न थालिएको बताउनुभयो । उहाँले ६० वर्ष उमेर पुगेका विपन्न समुदायका जेष्ठ नागरिकलाई मह वितरण गरिने बताउनुभयो ।