अदालतको आदेश, ‘रवि कसुरदार छैनन् भन्न सकिएन’

काठमाण्डौ, ३ माघ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर रिहा हुनु भएको छ । हिजो जिल्ला अदालत काठमाण्डौमा ६० लाख रुपैयाँ धरौटी बुझाएर उहाँ रिहा हुनुभएको हो । लामिछानेले प्रभु बैङ्कको बैङ्क ग्यारेन्टी धरौटीको रुपमा बुझाउनुभएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो । योसँगै लामिछानेले अब हिरासत बाहिर बसेर नै मुद्दाको पुर्पक्ष गर्न पाउनु हुनेछ । काठमाण्डौ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताले राखेको एक अर्ब १९ करोड रुपैयाँ अनियमितता प्रकरणमा रास्वपा सभापति लामिछाने ‘कसुरदार छैनन् भन्न सकिएन’ भन्दै धरौटीमा छाड्न आदेश दिएको हो ।

‘अहिले नै प्रतिवादी रवि लामिछाने प्रस्तुत वारदातमा कसुरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएकोले प्रस्तुत मुद्दाको प्रकृति समेतलाई मध्यनजर राखी मुद्दाको कारबाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी मुद्दा पुर्पक्षको प्रयोजनका लागि हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा यी प्रतिवादी रवि लामिछानेबाट ६० लाख रुपैयाँ नगद, धरौट वा सो बराबरको जेथा जमानत दिए लिई तारेखमा राख्नू’ अदालतको आदेशमा उल्लेख छ । अदालतले मागेको धरौटी बुझाएर छुटेपछि लामिछानेले न्यायालयलाई धन्यवाद दिनुभएको छ ।।

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहिवार
प्रतिक्रिया