
तुलसीपुर,२८ पौष । पछिल्लो समय वजार अनुगमनको कार्यलाई तिब्रता दिन थालिएको छ । उपभोक्ता सचेत हुँदै जानु र अनुगमनको दायरालाई बढाउँदै गएकाले अखाद्य बस्तु जफत तथा नष्ट र कारवाहीमा पर्ने व्यवसायीको संख्या बढेको तथ्यांक सार्वजनिक भएको छ। आज तुलसीपुरमा भएको खाद्य स्च्छता तथा गुणस्तर सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले सार्वजनिक गरेको तथ्याङकमा यस्तो देखिएको हो ।
कार्यालयका सूचना अधिकारी विवेक कुमार सुवेदीले सार्वजनिक गरेको तथ्याङक अनुसार गत आर्थिक वर्ष २०८०÷०८१ मा रु.१ लाख बराबरको गुणस्तरहीन खाद्य पदार्थ जफत गरी नष्ट गरिएको थियो भने चालु आ.व. को पौष मसान्त सम्ममा मात्रै रु.२ लाख १० हजार बराबरको गुणस्तरहीन खाद्य पदार्थ जफत गरी नष्ट गरिएको छ । ६ महिनाको अवधिमा मात्रै दोब्बरले गुणस्तरहीन खाद्य पदार्थ जफत गरी नष्ट गरिरहँदा पछिल्लो समय वजार अनुगमणको कार्यलाई तिव्रता दिईएको भन्दै खाद्य स्वच्छतामा व्यवसायी र उपभोक्ता नै सचेत हुनुपर्ने खाद्य निरिक्षक सुवेदीले बताउनुभयो ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाकी उप प्रमुख स्यानी चौधरीले व्यवस्थित वजारका लागी सरकार एक्लैले नसक्ने भन्दै सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख पदम बरालले कुनै पनि व्यवसायीलाई हानी हुने कार्य गर्न नचाहेको र अञ्जानमा भएका कमीकम्जोरीहरुलाई सुधार गर्दै अनुगमण कार्यमा सहयोग गर्न पनि व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । कार्यालयका खाद्य निरिक्षक सुदर्शन गोसाईले व्यवसायीहरुले खाद्य स्वच्छता सँगै प्याकेजिङ तथा लेवलिङमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेखा शर्मा, जनप्रतिनिधि, विभिन्न संघस्थाका प्रतिनिधि, उद्योगी, व्यवसायी लगाएतको सहभागी रहेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले दाङ, रोल्पा, प्युठान र पुर्वी रुकुम गरी ४ जिल्लामा हेरिरहेको छ ।