सिसहनिया महोत्सव अनुगमन, अखाद्य बस्तु नष्ट

तुलसीपुर, २८ पौष। दाङको राप्ती गाउॅपालिका वडा नं. ५ सिसहनिया कालापानीमा सञ्चालित दोस्रो सिसहनिया कृषि तथा औद्योगिक महोत्सव २०८१ को अनुगमनका क्रममा धेरै खानेकुरामा मिसावट भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुरका कार्यालय प्रमुख पदम बराल, खाद्य निरिक्षण विवेक कुमार सुवेदी र सुदर्शन गोसाई, प्रहरी, सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष पूर्ण बहादुर बुढाथोकी, लगाएतको टोलीले हिजो महोत्सवमा रहेका स्टलहरुको अनुगमन गरेको खाद्य निरिक्षण विवेक कुमार सुवेदीले जानकारी दिनुभएको छ । १५ वटा खाजा नास्ता पसल र ५ वटा दालमोठ भुजिया, मिठाई तथा अचार बिक्री वितरण गर्ने स्टलहरू गरी जम्मा २० वटा खाद्य स्टलहरूको निरीक्षण गर्दा म्याद गुज्रेका हल्का पेय पदार्थ १५ लिटर, अखाद्य रसायन राखेर तयार गरिएका जेरी ७ किलोग्राम, हाईड्रो ६ डब्बा, रङ हालेर तयार गरिएको पकौडा २ किलोग्राम, अखाद्य रङ हाली बनाईएको कटन क्यान्डी ८० थान र कटन क्यान्डी बनाउन रङ मिसाईएको चिनी २० किलोग्राम गरी करिव १० हजारको अखाद्य बस्तु जफत गरी नष्ट गरिएको कार्यालयका सुचना अधिकारी एवं खाद्य निरिक्षण  सुवेदीले जानकारी दिनुभयो।
अनुगमनको क्रममा म्याद गुज्रेका खाद्यवस्तु बिक्रीवितरण नगर्न, खाद्य नियम कानुनले निषेध गरेका रङ तथा रसायन खाद्यवस्तुमा प्रयोग नगर्न, पुरा विवरण उल्लेख गरी लेवलिङ गरीएका खाद्यवस्तु मात्र बिक्री वितरण गर्न र खाद्य व्यवसायमा स्वच्छता र सरसफाई कायम गर्न निर्देशन दिईएको अन्यथा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिने कार्यालयका प्रमुख पदम बरालले बताउनुभयो।

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार
प्रतिक्रिया