गहते खोला–बाघमारे जिर्ण सडकले नागरिकलाई सास्ती, निर्माण गर्न १६ करोडको सम्झौता, बजेट डेढ करोड

दाङ ,२० म‌सिर ।  तुलसीपुरको गहतेखोला बाघमारे जोड्ने सडक जिर्ण हुँदा नागरिकहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छ । सम्बन्धित निकायले सडक स्तरोन्तीका लागि ध्यान नदिदा एकातिर सडक झनपछि झन जिर्ण बन्दै गइरहेको छ भने अर्को तर्फ यात्रुहरु कष्टकर यात्रा गर्न विवश छन् । विशेष गरेर बाघमारे, सिमसुन्दरपुर, जुम्लेकुला, भलानेटी, चिराघाट, पातेटाकुरा, भमके, अश्वारा लगायतका गाउँ जोड्ने उक्त मुख्य सडकका नागरिक सबैभन्दा बढि प्रताडित छन् । करिब १३ वर्ष अघि तत्कालिन जिल्ला विकास समिति मार्फात ओटासील गरिएको तुलसीपुर बाघमारे सडक विगत २÷३ वर्षदेखि मर्मत गर्न समेत छोडिएको छ ।

उक्त सडकमा बस, टेक्सी, अटो, ट्याक्टर, टिप्पर, ट्रक, मोटरसाइकल समेत गरेर दैनिक सयौं सवारी साधान ओहरदोहर गर्छन् । तर हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुँदा सडक छेउका नागरिक, पैदलयात्री र यात्रुले ठूलो सास्थी खेप्दै आइरहेका छन् । ‘सडकै भरी खाल्डाखुल्डी छन् । राम्रो भन्ने कतै छैन । पिज पनि उत्रिएको छ । सवारी चालकले खाल्डा छल्नखोज्दा झनै दुर्घटनाको जोखिम बढेको छ । अटो चालक भिम बहादुर विश्वकर्माले भन्नुभयो ।

पश्चिम दाङका नेताको निर्लजता हो : स्थानीय
पश्चिम दाङका नेताहरुको अर्कमण्यताका कारण विकासले गतिलिन नसकेको स्थानीयले गुनासो गरेका छन् । ‘निर्वाचनमा विकासको मूल फुठाउँछौ भनेर गुलिया नारा लगाउने प्रदेश र संघिय सांसदहरु आज कहाँ गएका छन् । तुलसीपुरलाई पश्चिम दाङसंग जोड्नका लागि मेरुदण्डको रुपमा रहेको गहतेखोला देखि बाघमारे सडकको स्तरोन्तीका लागि किन पहल गर्दैनन् । काम गर्न कसले रोकेको छ ? ’ चिरेघाट निवासी स्थानीय पत्रकार निराश पाण्डेले भन्नुभयो ।

जनता झुक्याउने नेताहरुलाई बेलैमा जनताले चिन्न नसके अझै आगामी दिनमा यो भन्दा ठूलो दुःख पाउने बताउँदै स्थानीय पत्रकार, पाण्डेले राजनीतिलाई पेशा बनाएर खानेहरुका विरुद्ध सबै जागरुक हुनेबेला भएको बताउनुभयो । पश्चिम दाङबाट संघियमा दिपक गिरी र प्रदेशमा धनबहादर मास्कीले प्रतिनिधित्व गर्दै आउनु भएको छ ।

१६ करोडको सम्झौता, बजेट डेढ करोड मात्रै
यता सडक पूर्वाधार विकास कार्यालय दाङले सडक स्तरोन्नतीको काम सुरु भएको जनाएको छ । पहिलो चरणमा गहते खोलादेखि चिरेघाटसम्म सडकको विस्तार, र चिरेघाटदेखि जुम्लेकुलासम्म मर्मतका लागि वहुवर्षीय ठेक्कामा गएको कार्यालयले जनाएको छ । २८ं०८२ पुस १९ गतेसम्म निर्माणको काम सक्ने गरि सारदा श्री निर्माण सेवाले २०८१ असार १९ गते १६ करोड ५० लाख ८ हजार ७ सय रुपैयाँमा कार्यालयसंग ठेक्का लिएको इन्जिनियर प्रशान्त कुमार इसरले जानकारी दिनुभयो ।

गहतेखोला देखि चिरेघाटको बिच जंगलसम्म झण्डै ९ किलो मिटर सडकलाई नाला सहित १५ मिटर चौडा गरिने छ । त्यसैगरी १५ मिटर सडकको चौडा मध्य बीचको साढे पाँच मिटर भागलाई कालोपत्रे गरिने आयोजनाका इन्जिनियर सरोज डाँगीले जानकारी दिनुभयो । जंगलदेखि अगाडि बाघमारेसम्मको सडकलाई मर्मत मात्रै गरिने छ । गहतेखोला देखि खिलतपुर सम्मको दुरी १९ किलोमिटर छ ।

बहुवर्षिय शिर्षक अन्तर्गतको सडक निर्माणका लागि १६ करोडको सम्झौता निर्माण व्यवसायीले गरेपनि स्रोतको सुनिश्चितता १ करोड ५० लाख मात्रै भएकाले अपेक्षा अनुसार कामले गति लिन नसक्ने आँकलन गरिएको छ । झण्डै एक महिना अघि देखि निर्माणको काम सुरु गरेको निर्माण कम्पनीले अश्वाराको बरको बुटा, मालभुङको आरालो, भमकेको उकालो लगायतका स्थानमा ग्याबीन जाली र वाल लगाउने छ ।

तोकेको समयमा सडक बन्न मुस्किल छ : सडक पूर्वाधार

सम्झौता अनुसार बजेटको सुनिश्चितता नहुँदा तोकेको समयमा सडक बन्ने सम्भावना न्युन रहेको छ । लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले बहुवर्षिय योजनाबाट एक अर्ब भन्दा धेरै बजेट झिकेर ससाना टुक्रे योजनामा हालेकाले तोकिएको समयमा सडक बन्ने सम्भावना कम देखिएको हो । ‘सम्झौता अनुसार कम्तिमा ४० प्रतिशत रकमको सुनिश्चिता हुनु पर्ने हो । तर बजेट छैन ।

ठेगकदारले काम गरेर भुक्तानीका लागि बिल पठाउँछ । पैसा नभएपछि हामीले दिन सक्दैनौ अनि पैसा नपाए पछि काम रोकिन्छ ।’ सडक पूर्वाधार विकास कार्यालय दाङका प्रमुख प्रशान्त कुमार इसरले भन्नुभयो ।’  आवश्यक बजेटका लागि कार्यालयको तर्फबाट भौतिक पूर्वाधार मन्त्रालयमा पहल भइरहेको बताउँदै इन्जिनियर इसरले जनप्रतिनिधि तथा सांसदहरुबाट पनि दबाब सृजना गर्नुपर्ने बेला भएको बताउनुभयो । फागुन महिनासम्म बजेट थपिएन भने सडक निर्माणको काम लम्बिने कार्यालयले बताएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २० गते बिहिवार
प्रतिक्रिया